मंगलवार, भाद्र ३१, २०७६
    आर्थिक खबर

    फेरि बढ्यो सुनको भाउ, कारोबार ७०%ले घट्यो !

    बुधबार, १८ भाद्र २०७६, आहाखबर

    काठमाडौं, १८ भदौ । 

    भाउ आकासिएपछि तीजमा सुनको कारोबार ७० प्रतिशतले घटेको पाइएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौं १७ गतेसम्म जम्मा १२ किलो सुनको कारोबार भयो । गत वर्षको तीजमा दैनिक २५ किलो सुनको कारोबार हुन्थ्यो ।

    सुनको भाउ बुधबार पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो । 

    बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यता, तेजाबी सुनको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले नै बढेर बुधबार ७३ हजार २०० रुपैयाँ पुगेको छ ।
     
    यसअघि गत भदौ ९ गते पनि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा नै पुगेको थियो । यस्तै, चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँ पुगेको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । आम उपभोक्ताले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् ।
     
    सुनचाँदी गहना पसल सुनसान छन् । व्यापारीहरुले ग्राहकका पुराना गहना किन्न मानिरहेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स न्यूनतम १५ सय ४०.२६ डलरदेखि अधिकतम १५ सय ४९.८७ डलर सम्म कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो ।
     
    पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन् । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।

    सुन बिक्री घटेपछि केही पसलले छुट अफर समेत ल्याएका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast