बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    वर्षेनी बर माग्न हजारौ भक्तजन आउँछन्–बडिकेदार मेलामा

    मंगलवार, १७ भाद्र २०७६, –विमलबहादुर बिष्ट.
    डोटी, १७ भदौ
     
    नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’ । अग्लो डाँडोबाट यस्ता दृश्य अवलोकन गर्दा कसको पो मन फुरुङ्ग नहोला र ! सरर्र बग्ने हावासँगै सल्लाका कुसुम चलमलाउँदा त्यहाँ पुग्नेको मन झनै प्रशन्न हुनेगर्छ । यहाँ पुग्ने जो कोही बडिकेदारको सौन्दर्यमा लिप्त हुने गर्छन् । सधैँ उही र उस्तै प्रकृतिको वातावरण रहने बडिकेदारमा भने हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गर्दछ । महाशिवरात्रि भन्दा पनि कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्ने र दर्शनार्थीको बढी भिड हुने गरेको बडीकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडीकेदारको दर्शन गर्न भारत र तराईबाट थारू समुदायको विशेष आवतजावत हुन्छ, अन्य बेलाको भन्दा फागुन चतुर्दशीमा बढी भिड हुन्छ ।” 
     
    समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको बडिकेदार दक्षिण डोटीको बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा पर्दछ । हिन्दू धार्मिक ग्रन्थमा केदार शब्दको कयौं ठाउँमा उल्लेख गरिएको छ । ठुलाठूला ढुङ्गाको चट्टान रहेको र त्यसैमा श्रीकेदार बाबाको गाथ रहेको छ । 
     
    बडिकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासका साथ तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट वर्सेनी कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु यहाँ आउने गर्छन् । खोँचमा रहेको बडिकेदार शिलाको दर्शन गर्न पाउनु नै तीर्थालुको मुख्य ध्येय रहने गरेको छ । विभिन्न समुदायका धामी, झाँक्रीले आ– आफ्ना वेषभूषा र बाजागाजासहित सजिएर श्री केदारनाथ बाबाको दर्शन गर्ने र वर्षभरीको भविष्यवाणीसमेत गर्छन् । यो समयमा धामीले आफ्नो दैवीय शक्ति समेत देखाउने गर्छन् । त्यस्तै मगर जातिले रातभर मादलको तालमा बजाउने मारुनी नाँच र कन्छा कान्छीको नाँचले झनै त्यो ठाउँ मनमोहित हुन्छ । सुदूरपश्चिमकोे चर्चित डेउडा खेलले मेलामा झनै रौनकता छाउने गर्छ  । यतिमात्र नभइ तराईबाट थारू समुदायले सात दिन हिँडेर बडीकेदारको दर्शन गर्न आउने गरेको स्थानीयवासी तथा बडीकेदारका भण्डारी हर्कबहादुर  बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मनले मागेको बरदान मिल्ने भएकाले तराईदेखि भारतसम्मका श्रद्धालु भक्तजन आउँछन र वर मागेर जान्छन् ।” 
     
    किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय लाना भन्ने गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् । पछि कात्तिक बैकुण्ठ चतुर्दशीका दिन एक पटक स्थानीय गोठाला लेकमा निगालो काट्न जाँदा साथीभाइबाट छुट्टिए । उनी एक्लै रात बिताउन बाध्य भए । मध्यरातमा देवीदेवता बडीकेदारको शिलामा आगो बालेर नाचगान गर्दै शिवको पूजा गर्न लागेको गोठालाले प्रत्यक्ष देखें । उनले देवीदेवताहरूले मन्त्र उच्चारण गरेको, भक्तिभाव गरेको सबैकुरा टिपेर स्थानीयवासीलाई जानकारी गराए । त्यही बेलादेखि कात्तिक चर्तुदर्शीका दिन बडिकेदारमा पूजाआजा हुने गरेको भन्ने भनाइ रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, “गोठालाले देखेको देवताहरूको नाचगान र भक्तिभजन झै स्थानीय गाउँबाट धामीझाँक्री, भराणी बयाल अर्थात देउताको देउरो ल्याएर बडीकेदारमा दैवीशक्ति अहिले देखाउने गर्छन् ।” स्थानीय बुढापाकाका अनुसार अहिले सन्तान, जागिर र पदोन्नतिको बरदान माग्न दर्शनार्थी बडीकेदार पुग्ने गर्छन् । मनले इच्छाएको पूरा हुने विश्वासले तराईका आदिवासी थारु समुदाय र भारतको उत्तर प्रदेशका शहर लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट वर्सेनी कार्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु यहाँ आउने गरेको बडीकेदारका मुख्य पूजारी सिद्धराज बिनाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ मनले मागेको बरदान मिल्ने भएकाले प्रायः दर्शनार्थी वर माग्न ठूलै कष्ट सहेर पनि यहाँ पुग्ने गर्दछन् ।” मेलाको समयमा केदारले सन्तान दिएको भन्दै बालबच्चासहित दर्शन गर्न आउने सयौं दर्शनार्थी त्यहाँ भेट्न पाइन्छ । सन्तानदेखि छोराको पढाइ र फस्टाउँदो व्यापार बडीकेदारकै आर्शीवादले भएको विश्वास गर्छन्, दर्शनार्थीहरु ।
     
    कसरी पुग्ने बडिकेदार ?
     
    दिपायल–चवराचौतारा– सिमचौरसम्म जिप सेवा सञ्चालित छ । त्यहाँबाट करीब चार÷पाँच घण्टा पैदल हिँडेर बडीकेदार पुग्न सकिन्छ । त्यस्तै कैलालीको धनगढीबाट जान चाहनेका लागि अत्तरिया–सहजपुर–बिपीनगर हुँदै डोटीको अत्तरकाँडासम्म १०४ किलोमिटर बसको यात्रा गर्नुपर्छ । धनगढी बसपार्क र अत्तरियादेखि दैनिक चार वटा बस जान्छन् । अत्तरकाँडाबाट तीन घण्टाको पैदलयात्रापछि बडिकेदार पुग्न सकिन्छ ।बडीकेदार बोगटान क्षेत्रको मात्रै नभइ तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र मानिएको छ । केदारकै नामबाट अहिले त्यहाँ बडीकेदार गाउँपालिकासमेत राखिएको छ । यो मेलालाई अपासी सद्भावको मेलाको रुपमा पनि मानिने गरेको स्थानीयवासी गणेश बलमेले बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकीमूलुक भारतसहित नेपाली दाजुभाइसँंग भेटघाट र जमघट हुने भएकाले यो मेला आपसी माया ममता साट्ने केन्द्र भएको छ ।” यो स्थानमा भौतिक पूर्वाधार, सडकको स्तरोन्नति भएमा स्वदेशी तथा विदेशी पर्यटकलाई बडीकेदार भित्र्याउन सकिने बोगटान फुड््सिल गाउँपालिकाका स्थानीयवासी खड्कबहादुर बोहराले बताउनुभयो । 
     
    बडीकेदारको अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमले महत्वका साथ प्रचारप्रसार तथा स्थानीय तह, नेकपाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा केही भौतिक पूर्वाधार निर्माण भएकाले पछिल्लो समय भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा बढेको स्थानीयवासी बताउँछन् । बडीकेदारको विकासका लागि गुरुयोजना बनाएर काम गर्न सके बडीकेदार समग्र सुदूरपश्चिम प्रदेशसहित देशकै प्रमुख पर्यटकीय र धार्मिकस्थलका रुपमा स्थापित हुनसक्ने बडीकेदार गाउँपालिका– ५ का वडाअध्यक्ष बुद्धिसागर बिनाडीको भनाइ छ । 
     
    शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात् भिरको बीचमा रहेको छ । मेलाको दिन बडीकेदार थान नजिकै भएको उक्त गाईबाच्छा ढुङ्गाको डाँडामा दिउँसोको पारिलो घाममा बदाम खानेको भीड लाग्छ । बडीकेदारमा शुल्क त्रियोदशीको राति मेला लागेर बैकुण्ठ चतुर्दशीको बिहान पूजाआजासहित जात्रा सकिने मेला व्यवस्थापन समितिले जनाएको छ । बडीकेदारको महिमाले ताजा श्वास र आँखाले विचित्र संसार हेर्ने अवसर मिल्छ ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast