सोमबार, असोज ६, २०७६
    बिदेश

    ब्राजिलका राष्ट्रपति अमेजन डढेलोबारेको सम्मेलनमा सहभागी नहुने

    मंगलवार, १७ भाद्र २०७६, आहाखबर

    एजेन्सी, १७ भदौ ।

    ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो अमेजन रेनफरेस्टमा लागेको भीषण डढेलो र त्यसको नियन्त्रण तथा प्रभावहरुबारे छलफल गर्न आयोजित सम्मेलनमा सहभागी नहुने जनाइएको छ । शल्यक्रिया गर्नु पर्ने भएकाले उनी सम्मेलनमा सहभागी नहुने भएका हुन् ।

    राष्ट्रपति बोल्सोनारोका एक सहयोगीले निकट भविष्यमा हुने सो सम्मेलनमा उनी भाग नलिने जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिलले सम्मेलनका लागि राष्ट्रपतिको सट्टा प्रतिनिधि पठाउन सक्ने या सम्मेलनको मिति पछि सार्न आग्रह गर्ने राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।

    अमेजन रेनफरेस्टमा यो वर्ष हालसम्म डढेलोका ८० हजार भन्दा बढी घटना भएका छन् । अमेजन रेनफरेस्टको संरक्षणका लागि आवश्यक कमद चाल्न नसकेकोमा राष्ट्रपति बोल्सोनारोको आन्तरिक तथा बाह्य रुपमा गम्भीर आलोचना भइरहेको छ । अमेजन रेनफरेस्ट अक्सिजनको महत्वपूर्ण स्रोत हो । विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको दर कम गर्नका लागि अमेजन रेनफरेस्टको भूमिका महत्वपूर्ण रहन्छ ।

    अमेजन रेनफरेस्टमा गएको वर्षको तुलनामा यो वर्ष आगलागीका घटना ७७ प्रतिशतले बृद्धि भएको र त्यसका लागि बोल्सोनारोको नीति जिम्मेवार रहेको वातावरणविद तथा वातावरण संरक्षणको पक्षमा वकालत गर्दै आइरहेकाहरुले आरोप लगाउँदै आएका छन् । बोल्सोनारोले वातावरण संरक्षणको सट्टा विकासलाई प्राथमिकतामा राखेको बताइन्छ ।

    विवादास्पद नेता बोल्सोनारो गएको वर्षको अक्टोबरमा ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसको महिना दिनअघि चुनावी अभियानको क्रममा उनीमाथि चक्कु प्रहार भएको थियो । आक्रमणपछि उनको तीनवटा शल्यक्रिया भइसकेको छ । उनको चौथो शल्यक्रिया आउँदो आइतबार हुनेछ । आइतबारको शल्यक्रियाका लागि बोल्सोनारोले शुक्रबारदेखि नै झोल पदार्थ मात्रै खाने छन् । शुक्रबार नै कोलम्बियामा अमेजनमा भइरहेको आगलागी सम्बन्धी क्षेत्रीय सम्मेलन हुनेछ । 

    सोमबार पत्रकारसँग कुरा गर्दै बोल्सोनारोले अमेजन रेनफरेस्टका सम्बन्धमा आफ्नो नीतिको बचाउ गरे । उनले सेप्टेम्बर २४ मा हुने संयुक्त राष्ट्रसंघको महासभामा ह्वीलचियरमै भए पनि सहभागी हुने बताएका छन् । उनले भने, ‘म उपस्थित हुनेछु किनकी मलाई अमेजनबारे कुरा गर्नु छ ।’

    अमेजनको डढेलो नियन्त्रणका लागि २० मिलियन अमेरिकी डलर सहयोगको प्रस्ताव गरेर अरु देशले उपनिवेशिक चरित्र देखाएको बोल्सोनारोले आरोप लगाएका छन् ।

    बोल्सोनारोले उपचारपछि १० दिन आराम गर्नु पर्ने डाक्टरले बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast