बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    शिवालयमा भक्तजनको भीड, तीज र चौँठचन्द्र पर्व एकसाथ

    सोमबार, १६ भाद्र २०७६, आहाखबर
    भक्तपुर, १६ भदौ
     
    महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । 
     
    ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ । 
     
    डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सहज रुपमा दर्शनका लागि डोलेश्वर विकास समितिले मन्दिरको चारै ढोका खुला गरेको समितिका कोषाध्यक्ष मोहन बल्लभले जानकारी दिनुभयो । व्यवस्थापनमा प्रहरी एवम स्वयंसेवक परिचालन गरिएको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । 
     
     
    तीज र चौँठचन्द्र पर्व एकसाथ
     
    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो ।
     
    धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा स्थापित तीजका साथै चौँठचन्द्र पर्वको रौनक गण्डकी प्रदेशको राजधानी पोखरामा देखिएको छ । पोखरामा बस्दै आएका मैथिल समुदाय चौँठचन्द्र पर्व मनाइरहेका छन् । पतिको दीर्घायुका साथै परिवारको मङ्गलमय कामनाका लागि आराध्यदेव महादेवको पूजा गर्दै तीज पर्व मनाउने महिला आज बिहानैदेखि ब्रत  बसेका छन् । आज साँझको समयमा हुने चौँठचन्द्रको पूजाका लागि मैथिल समुदायका महिला पनि आज बिहानैदेखि उपवासमा छन् ।
     
    चौँठचन्द्र पर्वका अवसरमा ऋद्धिसिद्धिका दाता गणेशको पूजाका साथै चन्द्रमा र रोहिणीको विधिवत् पूजा गरिन्छ । रोहिणी चन्द्रमाकी पत्नी हुन् । सधवा महिलाले सर्वप्रथम गौरीको पूजा गर्छन् । त्यसपछि गणेशका साथै घरका देवीदेवता लगायतको पूजा गर्छन् । आज सधवाले विष्णुको पूजा गर्दैनन् । विधवाले सर्वप्रथम विष्णुको पूजा गर्छन् तर गौरीको पूजा गर्दैनन् ।
     
    मिथ्या कलङ्कबाट जोगिन र परिवारको कल्याणका लागि प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौँठचन्द्र पूजाको शुभारम्भ गर्नुभएको थियो । सर्वसाधारणलाई यस पर्वको महत्वको विषयमा जानकारीका साथै परिवारको कल्याण हुने विश्वास जागृत गराउन उहाँ सफल हुनुभएको थियो । उहाँ ज्योतिष पनि रहेको विश्वास गरिन्छ ।
     
    स्यमन्तक मणि चोरीको झुटो आरोपबाट प्रताडित हुनुभएका भगवान् कृष्णले ऋषिको सल्लाहमा आजकै दिनमा विधिवत् रुपमा चौँठचन्द्र पर्वको पूजा गर्नुभएको पुराणमा उल्लेख छ । त्यसपछि उहाँ मिथ्या कलङ्कबाट जोगिनुभएको थियो । यी दुई कारणले सांस्कृतिक एवम् धार्मिक पर्व चौँठचन्द्र मैथिल समुदायले विधिपूर्वक मनाउँदै आएका छन् । 
     
    चौँठचन्द्र पर्वमा पूजा आँगनमै गरिन्छ । खुला आकाशमुनि पूजा गर्ने चलन छ । सर्वप्रथम गाईको गोबरले आँगनलाई लिपपोत गरिन्छ । अरुवा चामलको पीठोले पूजास्थललाई  कलात्मक अरिपन बनाइन्छ । सो अरिपनमा चन्द्रमाको आकृति बनाइनुका साथै सामग्री राख्ने स्थल पनि अङ्कित गरिएको हुन्छ । यस पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, नरिवल, मिठाई, केरा र विभिन्न प्रकारका परिकार राखिन्छ । त्यसपछि विधिवत् रुपमा पूजा शुरु हुन्छ । पूजा नहुन्जेलसम्म चन्द्रको दर्शन नगर्ने चलन छ । पूजाको प्रसाद नलिई चन्द्रमाको दर्शन गरे मिथ्या कलङ्क लाग्ने विश्वास रहिआएको छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast