बुधबार, असोज १, २०७६
    धर्म-संस्कृति

    मिथिलामा चौरचन पर्वको चहलपहल

    आईतवार, १५ भाद्र २०७६, आहाखबर
    महोत्तरी, १५ भदौ
     
    महोत्तरीसहितका  मिथिला क्षेत्रका मैथिल हिन्दू धर्मावलम्बी चौरचन (चौठी चान) पर्वको तयारीमा जुटेका छन् । भदौ शुक्लपक्षको चौथीका दिन मनाइने चौरचन पर्वका लागि सरदाम (सामग्री) जुटाउन मैथिल हिन्दूको व्यस्तता बढेको छ । 
     
    यसपालि मिथिलामा सोमबार चौरचन पर्व मनाइँदै छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपूmल र वस्त्रआभूषण चढाइने परम्परा छ । मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिने यस पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) आफ्नो सावगासअनुसार सामग्री जुटाउनमा लागेका छन् । 
     
    नेपाली महिलाको महान पर्व हरितालिका तीज र चौरचन एकैदिन परेपछि जिल्लाका सबै हाटबजारमा चहलपहल ह्वात्तै बढेको छ । तीजको व्रत लिइने तृतीया तिथि आज नै शुरु भएर सोमबार बिहान १० बजेभित्रै सकिएर चौथी तिथि लाग्नाले तीजको एक दिनपछि पर्ने चौरचन यसपालि तीजकै दिन परेको हो । चौरचन पर्वमा चौथीका दिनको चन्द्रमाको पूजा आराधना गरिने हुनाले पर्व सोमबार नै मनाइने मिथिला पञ्चाङ्गमा उल्लेख रहेको मैथिल परम्पराको कर्मकाण्डका ज्ञाता बर्दिवास नगरपालिका–२ का  महेशकुमार झाले बताउनुभयो ।  
     
    भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सोही दिन साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घरमूली व्रतालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ । खासगरि खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टमित्रसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि  यो पर्व सम्पन्न गरिने मैथिल हिन्दू परम्परा छ ।
     
    भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन रहेको मैथिली संस्कृतिका जानकार बताउछन् । यो व्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानी, महोत्तरीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ । मिथिलाका मूल  बासिन्दा चौरचन पर्वको तयारीमै रहेका बेला  यस क्षेत्रकै पर्वते मूलका बासिन्दा भने सो दिन चन्द्र दर्शन दोषपूर्ण रहने बताउछन् ।
     
    पछिल्ला पुस्ताका किशोरहरु कहीँकतै चन्द्र दर्शनको दोष मेटाउन बिग्याँई गर्ने गरेका विगत देखिएको छ । गाउँघरमा राति सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास छ । दोष मेटाउन बिग्याँई गर्नुपर्ने पुरानो विश्वास भने ठिक नरहेको भङ्गाहा नगरपालिका–४ का २३ वर्षीय सुलनचन्द्र शर्मा बताउनुहुन्छ ।
     
    यसपालि चौरचन पर्व तिथिको घटबढले तीज उपवासकै दिन सोमबार परेको छ । चौरचन पर्वमा भदौ शुक्ल चौथीको महत्व र उपवास गरिनाले सोमबार बिहान १० बजे अगावै चौथी शुरु हुने हुँदा चौरचन पर्वको तयारी एक दिन पहिले नै गरिएको हो । मिथिलामा यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्रसमेत भन्ने गरिएको पाइन्छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast