सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    एटिएममा चिनियाँ ह्याकरको हमला : राष्ट्र बैंक भन्छ - ‘ढुक्क हुनुहोस् तपाईको खाताबाट पैसा हराएको छैन’

    आईतवार, १५ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १५ भदौ 

    चिनियाँ ह्याकरले बैंकको एटिएमबाट लुटेको पैसा कुनै पनि ब्यक्तिको खाताबाट नझिकिएको राष्ट्र बैंकले जनाएको छ। 

    राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले निक्षेपकर्ताहरुको पैसा नलुटिएको जानकारी दिए । निक्षेपकर्ताहरुको पैसा नलुटिएको बताउँदै उनले बैंककै आफ्नो पैसा लुटिएको स्पष्ट पारे । उनले निक्षेपकर्ताहरुको खाता सुरक्षित भएको दावी समेत गरे । उनले भने, निक्षेपकर्ताहरुको खाता सुरक्षित छन्, चिन्ता लिनुपर्दैन । 

    बैंक तथा वित्तीय संस्थाहरुले आफुलाई सुरक्षित गर्नेतर्फ लाग्नुपर्ने बताउँदै प्रवक्ता निरौलाले प्रविधिमा सुरक्षा अपनाउनुपर्नेमा जोड दिए । उनले भने, बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिमा अधिकतम लगानी गर्नुपर्छ ।

    अहिले बैंक तथा वित्तीय संस्थाहरु असुरक्षित रहेको बताउँदै उनले सिस्टमलाई अपग्रेड गर्न सुझाव दिए । 
    बैंक तथा वित्तीय संस्थाहरुको एटिएम सेवा अहिले निर्वाध रुपमा सञ्चालन भैरहेको समेत उनले जानकारी दिए । निक्षेपकर्ताहरुका लागि कुनै असुरक्षा नभएको भन्दै उनले चिन्ता लिनुनपर्ने बताए । उनले भने, अहिले बैंक तथा वित्तीय संस्थाहरुका सबै एटिएम चलिरहेका छन्, कुनै बैंकको नचलेको होला, त्यो पनि केहीबेरमा चल्छ ।’

    प्रवक्ता निरौलाका अनुसार, अहिले राष्ट्र बैंकमा बैंकर्सहरुसँग बैठक चलिरहेको छ । एटीएम ह्याकिङ गर्दै गरेको अवस्थामा गएराति काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ नागरिक पक्राउ परेपछि आइतवार केहीबेर बैंकहरुको एटिएम सेवा बन्द गरिएको थियो ।

    ह्याकरहरूलाई पक्राउ गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनीहरूको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको प्रहरी परिसर काठमौंका प्रवक्ता उत्तम सुवेदीले बताए । चिनियाँ ह्याकरहरुले विभिन्न १४ बैंकका एटीएम ह्याक गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ह्याकरहरु बैंक लुटेर भोलि नै चीन फर्कने योजनामा रहेका थिए । 
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast