सोमबार, भाद्र ३०, २०७६
    खेल संसार

    नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित

    शनिबार, १४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १४ भदौ

    भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । 

    भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो ।

    यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो । नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

    त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे । उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे । राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो ।

    प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछिका तीन खेलमा लगातार जित निकालेको थियो । नेपालले श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गरेको थियो । भारतले भने अपराजित रहँदै उपाधिमाथि कब्जा जमायो ।

    प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलङ्का, बङ्गलादेश र भूटानको सहभागिता रहेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast