बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    उदाउँदा शहर खानेपानीको समस्यासँग जुध्दै

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर
    काठमाडौँ, १३ भदौ
     
    दक्षिण एशियामा तीव्र शहरीकरणसँगै खानेपानीको समस्या भयावह बन्दै गएकाले समयमै यसमा वैकल्पिक उपाय अपनाउन सुझाव दिइएको छ । नेपाल र भारतका चार शहरमा तीन वर्ष समय लगाएर गरिएको एक अनुसन्धानले तापमानमा भएको वृद्धि र वर्षासमेत कम हँुदै गएका कारण ती शहरमा पानीका स्रोत घटेर खानेपानीको समस्या सिर्जना भएको निष्कर्ष निकालिएको छ । 
     
    साथै खानेपानी समस्या समाधानका लागि आकाशे पानी सङ्कलन गरी जमीन पुनःभरण गर्न सकिने प्रभावकारी विकल्पका बारेमा समेत सुझाव दिइएको छ । साउथ एशिया इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज (एसआइएएस) ले सन् २०१६ अप्रिलदेखि गरेको एक परियोजनामार्फत नेपालका धरान र धुलिखेल तथा भारतका मसुरी र हल्द्वानी शहरमा विभिन्न आयामबाट अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रतिवेदन आज सार्वजनिक गर्दै सो संस्थाले धरान उपमहानगरपालिकामा घर–घरमा आकाशे पानी सङ्कलनको व्यवस्था र धुलिखेल नगरपालिकामा पोखरीमार्फत वर्षाको पानी जमीनमा पुनःभरण गरेपछि खानेपानीको समस्या कम भएको जनाएको छ ।
     
    सो संस्थाले सम्बन्धित नगरपालिकासँग सहकार्य गरी दुवै शहरमा पानी पुनःभरणका लागि ‘पानी चौतारी’मार्फत काम गरेको संस्थाका कार्यकारी निर्देशक दिल खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका प्रिन्सिपल इन्भेष्टिगेटर रोशन बज्राचार्यले समग्र अनुसन्धान प्रतिवेदनका बारेमा जानकारी गराउनुभयो ।
     
    अनुसन्धान क्रममा धुलिखेलमा कार्यरत अनुसन्धानकर्ता कमल देवकोटाले धुलिखेलमा खानेपानीका १० स्रोतका लागि विभिन्न स्थानमा ठूला साना गरी ६० पोखरी निर्माण गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “पोखरी निर्माणपछि अहिलेसम्म ३३ पटक खानेपानीका मुहानमा पानीको स्रोत मापन गर्दा वृद्धि भएको देखियो ।” धरानमा अनुसन्धानरत अनुसन्धानकर्ता कौस्तुभराज न्यौपानेले नगरपालिकाको सहयोगमा नीतिमार्फत नै प्रत्येक घरमा अनिवार्य रुपमा आकाशे पानी सङ्कलनको व्यवस्था गर्दा खानेपानी समस्या कम भएको उल्लेख गर्नुभयो । 
    अर्का अनुसन्धानकर्ता नगमिन्द्र दाहालले दुवै शहरमा जलवायु परिवर्तनका असर बारेमा जानकारी गराउँदै तापक्रम बढेको र वर्षा हुने क्रम पनि घट्ेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार धुलिखेलमा वार्षिक ०.०३ डिग्री सेल्सियस तापक्रम बढ्दै गएको र ९.१ मिलिमिटर वर्षा कम हुँदै गएको छ । 
     
    यसैगरी धरानमा सोही अनुपातमा तापक्रम बढ्दै गएको र वार्षिक ८.६ मिलिमिटर वर्षा कम हँुदै गएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको थियो । भारतका उक्त दुवै शहर पनि उही धरातलीय अवस्थिति रहेका कारण धरान र धुलिखेलको समस्यासँग समान रहेको अनुसन्धानकोे निष्कर्ष छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast