बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    कुसेऔंसी : 'आमाको कोख र बाबाको संस्कारको देन' तपाईको जीवन

    शुक्रबार, १३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १३ भदौ । 

    भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व शुक्रबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँन्छ ।

    सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

    आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

    आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

    कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

    स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि 
    करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

    अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । 

    वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । 

    परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो । 

    चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलार्इ कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast