बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    अभ्यास खेलमा नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोली विजयी

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १२ भदौ

    नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो । 

    नेपालले बादुरेलियालाई १६५ रनको लक्ष्य दिएको थियो । बादुरेलिया २३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनायो । बादुरेलियाका लागि थिभेन्दु डिक्वेले सर्वाधिक ३१ रनको योगदान दिए । आभिस्का लक्सनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै पवन सर्राफ र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो । वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्  ३५ ओभरमा झारिएको थियो । वर्षा बाधक बनेपछि बादुरेलियाले डिएल पद्दतिको आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रीत गौतम र हरि चौहानले अर्धशतकीय इनिङ् खेले ।  रीतले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४, आसिफ शेखले १४ तथा भीम सार्कीले १० रन बनाए । 

    बलिङर्फ बादुरेलियाका लागि मालिदा करुनारत्ने, अभिस्का लक्सन र थिलिना चमाथले दुई÷दुई विकेट लिए । नेपालले अन्तिम अभ्यास खेलमा शुक्रबार श्रीलङ्काको चिल मरियन्ससँग खेल्नेछ । पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग तीन विकेटले पराजित भएको थियो । यू–१९ एशिया कपको तयारी स्वरुप तीन अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्का भ्रमणमा गएको हो । एशिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा श्रीलङ्का, बङ्गलादेश र युनाइटेड अरब इमिरेटस् (युएई) छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भदौ २० गते आयोजक श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast