बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    एसपी मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस, के हुन्छ कारबाही ?

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, १२ भदौ 

    चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको छ ।

    यस बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए । 

    घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले जनाए । पत्रकार शालिकराम पुडासैनी गत २० साउनमा नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि खिचेको भिडियोमा शालिकरामले टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य पारेका उल्लेख गरेका थिए । 

    रविसहित तीनै जनालाई साउन ३० गते प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गर्यो । सोही दिन राती नै उनीहरुलाई चितवन लगियो । रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए । सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो । 

    लगत्तै रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ (अगस्ट १६) मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन् ।
     
    के हुन्छ कारबाही ?

    सम्बन्धित व्यक्तिले निवेदन दिएको आधारमा सो कार्यमा संलग्नलाई पक्राउ गरेर साइबर अपराध अन्तर्गत कानुनी कारबाहीको प्रक्रियामा जाने केन्द्रीय सहायक प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । 

    कम्प्युटर, इन्टरनेट विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घ्रणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई रु १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast