बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन

    बिहिवार, १२ भाद्र २०७६, आहाखबर

    जुम्ला, १२ भदौ

    जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो । 

    समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ । कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ । 

    नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौरमा बन्दै गएको ‘हाई अल्टिच्युट ट्रेडिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताउनुभयो । जिल्ला खेलकूद विकास समिति जुम्लाको नयाँ कार्यसमितिको अध्यक्षका लागि आठ व्यक्तिको नाम चर्चामा छन् । समितिमा पहिलो पटक महिला अध्यक्ष बनाउनुपर्ने भन्दै चन्दननाथ नगरपालिका–१ आर्चायबाडाकी सङ्गीता आचार्य खेल क्षेत्रको विकास गर्न युवा नै आवश्यक रहेको सन्दर्भमा वडा ३ बुढ्थबाडाका लक्ष्मी खत्रीको नाम चर्चामा छ । अर्का युवा बक्सिङ खेलाडी बालकृष्ण बुढा, वडा ८ रोकायाबाडाका कालीबहादुर रोकाया तथा  पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भीम थापा र विष्णुबहादुर महतको नाम चर्चामा रहेको छ । 

    नेकपा जिल्ला सचिव तीर्थ बुढाका अनुसार पदाधिकारीविहीन जिल्ला खेलकूद विकास समितिको अध्यक्षसहित अन्य सदस्यका लागि पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन । उहाँले भन्नुभयो, “यस विषयमा जिल्ला कार्यसमितिमा छलफलका लागि कुरा चलिरहेको छ ।” 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast