सोमबार, असोज ६, २०७६
    कृषि-उर्जा

    फौजी किराले मकै बाली सखाप

    बुधबार, ११ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ११ भदौ । 
    अमेरिकी फौजी किराले ओखलढुंगा, भोजपुर, उदयपुर र खोटाङमा मकै बाली सखाप पारेको छ। किराको प्रकोप फलिँदा मकै किसान आतंकित बनेका छन्। ओखलढुंगाको सिद्धिचरण राजमार्ग र ओखलढुंगा–हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले सबैभन्दा बढी मकै बाली सखाप पारेको छ। त्यस क्षेत्रमा ९० प्रतिशत हिउँदे मकैको नष्ट गरेको अनुगमनका क्रममा भेटिएको बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवले बताए। उनले भने, ‘ओखलढुंगापछि खोटाङमा धेरै नष्ट गरेको छ, खोटाङमा ७०, उदयपुरमा २५ र भोजपुरको तथ्यांक आउन बाँकी छ। यो एकै रातमा पनि बढ्न सक्छ।’

    ओखलढुंगामा नमुना र किरा परीक्षण गर्दा अमेरिकी फौजी किराको पुष्टि भएको उनले जानकारी दिए। ‘पहिले पनि मकैमा किराको प्रकोप देखिन्थ्यो। प्रदेश १ मै फौजी किराको प्रकोप पुष्टि भयो। यसले एकै रातमा एक सय किलोमिटरसम्मको मकै नष्ट गर्न सक्छ,’ यादवले भने।

    फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको सम्बन्धित जिल्लाका किसानले बताएका छन्। ती जिल्लामा बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। हिउँदे मकैमा पनि फौजी किरा फैलिएपछि हिउँदे मकैबाट उत्पादनको आशा मारेको भोजपुर हतुवागढी गाउँपालिका–१ रानीबासका किसान पदमबहादुर बस्नेतले बताए। उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन। यो वर्ष कसरी जीविका चलाउने ? बस्तुभाउलाई के दिने ? ’ भोजपुरमा हतुवागढी गाउँपालिका क्षेत्रमा फौजी किराको संक्रमण बढेको छ। भोजपुर हतुवागढी गाउँपालिका १, २, ५ र ६ का रानीबास, लुंगिन, होम्ताङ, हर्का, लंखालगायतका क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ। भोजपुरमा फौजी किराको प्रकोप देखिएको यो पहिलोपटक हो। प्रकोपले गाउँपालिका क्षेत्रका करिब आठ सय रोपनीमा लगाइएको मकैबाली नष्ट गरेको छ। हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानबीच तत्काल किरा नियन्त्रण गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ।

    ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका १३ मा किराको प्रकोप फैलिएको छ। मानेभन्ज्याङको हिलेपानी, सोक्माटार, थाक्लेमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताए। उनले भने, ‘मकै मात्रै होइन, बोटबिरुवाका पालुवासमेत सखाप पारेको छ।’ खोटाङमा एक महिनाअघि फैलिएको अमेरिकी फौजी किराले बालीनालीलगायत वनजंगल सखाप पार्न थालेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सय एमएलको ५० बट्टा विषादी हस्तान्तरण गरेको छ। विषादी सबै किसानलाई वितरण गर्ने र एकैसाथ बालीनालीमा छर्कने व्यवस्था मिलाइने बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। २० बट्टा विषादी हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा पठाइएको छ।

    खोटाङको बाहुनीडाँडामा कृषि ज्ञान केन्द्रका टोलीसमेत पुगेको छ। हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि फेरि छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले सखाप पारेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए। उनका अनुसार फौजी किराले घाँस तथा मकैका घोगासमेत नष्ट गरेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast