सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    राजधानीमा आजबाट नाडा अटो शो सुरु, सरकारकाे प्रथमिकतामा एसेम्ब्ली प्लान्ट

    मंगलवार, १० भाद्र २०७६, आहाखबर

    काठमाडौं, १० भदाै ।

    मंगलबारबाट राजधानीमा बृहत् नाडा अटो सो शुरू भएकाे छ । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ।

    अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै खाले अटो प्रोडक्ट तथा ब्रान्डहरुका गाडीहरु यसै सोमार्फत प्रदर्शन गरिने हुनाले पनि त्यसो भनिएको हो ।

    सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ । सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ । यस वर्षको अटो सो १४औँ संस्करणको सो हो ।

    यस वर्ष २३ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुले अटो सोमा सहभागीता जनाउँदै छन् ।

    भाद्र १० गतेदेखि १५ गतेसम्म ६ दिन राजधानीको भृकुटी मण्डपमा आयोजना हुने यस अटो मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ ।

    शोको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले देशको औद्योगिकरणको लागि एसेम्ब्ली प्लान्ट राख्नुपर्ने बताए । देशको औद्योगिकरणको लागि एसेम्ब्ली प्लान्ट राख्नुपर्ने खतिवडाकाे भनाइ थियाे ।

    उनले आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्ने बताए। सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।

     दश वर्षमा चार गुनाले सवारी साधन आयात भएकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्रीले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखे।

    उनले भने 'कुनै पनि देश औद्योगिकरणतर्फ जाने नै एसेम्बली प्लान्टबाट हो। हामीले विद्युतीय गाडीको एसेम्बली प्लान्टमा प्राथमकिता दिएका टौं। विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहनेछ।'

    अर्थमन्त्रीले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत बताए। उनले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने धारणा राखे। उनले भने 'कमसेकम २० प्रतिशतभन्दा कम मूल्य बृद्धि हुने उत्पादनमा बहस नगरौं।'

    यसैगरी सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी पनि अर्थमन्त्रीले दिए।

    देशले धान्न नसक्ने भएपछि करको दायरा तथा अन्तशुल्क बढाइएको उनको भनाई छ। 'अधिकतम भन्सार ८० प्रतिशत भन्दा बढी लगाउदैनौ' भन्दै अर्थमन्त्रीले व्यावसायिक वातावरण बिग्रेको नभई लगानीको माग अनुसारको गतिमा पुग्न नसकिरहेको अवस्था विद्यमान रहेको बताए।

    गत आर्थिक वर्षमा धेरै उद्योग दर्ता भएको र आयात १४ प्रतिशत भन्दा कम र निर्यात १९ प्रतिशत माथी रहेको भन्दै यसलाई सुखद मान्नुपर्ने तर्क गरे।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast