सोमबार, भाद्र ३०, २०७६
    स्कुल-कलेज

    आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका

    सोमबार, ९ भाद्र २०७६, आहाखबर
    सल्यान, ९ भदौ
     
    त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो ।   
     
    गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभयो । 
     
    “शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा  अवगत गराउन पाठ्यक्रम तयार गरी लागू गरेका छौँ”, उहाँले भन्नुभयो । राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । 
     
    स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने डाँगीको भनाइ छ । स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । “स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छ”, अध्यक्ष डाँगीले भन्नुभयो ।
     
    गाउँपालिकाभित्र रहेका २९ सामुदायिक विद्यालय र सात निजी विद्यालयले पाठ्यक्रम अध्यापन गराइरहेका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले जानकारी दिनुभयो । जिल्लामा आफ्नै पाठ्यक्रम लागू गर्ने पहिलो स्थानीय तह उक्त गाउँपालिका हो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast