बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, ५ वर्षसम्म जेल सजाय ! के भेटियो अनुसन्धानमा ?

    आईतवार, ८ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ८ भदौ

    शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।

    लगत्तै वयान सुरु भयो । आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

    तीनैजनाको वयान सकिएपछि थुनछेक बहस हुनेछ ।

    मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा दोषी ठहर भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुबै सजाय हुन सक्छ ।

    के-के भेटियो अनुसन्धानमा ?

    प्रहरीले लामिछानेसहित तीनजनालाई दुई ५/५ दिन म्यान थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।

    अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।’

    रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्महत्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन लगायतका विषय केलाएको थियो ।

    तीनजनाको वयान पनि लिएको छ । त्यसक्रममा लामिछाने र कार्कीको वयान बाझिएको अनुसन्धान अधिकृत बताउँछन् । रविले यसअघि आफूले अस्मितालाई नचिनेको दाबी गरेका छन् भने अस्मिताले भने पुरानो चिनजान भएको बताएकी छन् ।

    त्यसैगरी पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक-पटक सम्पर्क गरेको पनि देखिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast