बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    कामपा र ढाका नगरका प्रमुखबीच भेट

    आईतवार, ८ भाद्र २०७६, आहाखबर
    काठमाडौँ, ८ भदौ
     
    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बङ्गालादेशको ढाका नर्थ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ । 
     
    भेटका क्रममा प्रमुख शाक्यले महानगरपालिकाले बङ्गालादेश र नेपालबीचको सांस्कृतिक र रहनसहनमा समानता रहेको उल्लेख गर्नुभयो । दुई देशबीच रहेका समानता नै आपसी हित प्रवद्र्धनका आधार भएका उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय शहरसँगको सम्बन्धबाट कामपाले शहरी विकासका आयाम र शहरी व्यवस्थापनका थप सीप सिकिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले सिकेको ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुग्ने विश्वास छ ।”
     
    बङ्गालादेश भलिबल महासङ्घका अध्यक्षसमेत रहनुभएका प्रमुख इस्लामले आगामी दिनमा खेलकूदले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । ढाका नर्थ सिटी कर्पोरेशनले भोगेका कतिपय अनुभव काठमाडौँका लागि असल सिकाइ हुन सक्ने उहाँले बताउनुभयो । आफ्नो नगरका समस्या र प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्दा कामपाले त्यस्तै खालका समस्या भोग्नु नपर्ने उहाँले बताउनुभयो ।  उहाँले भन्न्ुभयो, “फोहर पानी प्रशोधन, घरेलु फोहोर व्यवस्थापन, शहरी योजनाका विषयमा हामी आफ्नो भोगाइ देखाउन र बुझाउन सक्छौँ ।” 
     
    नेपालका लागि बङ्गालादेशकी राजदूत मास्फी बिन्तेले नेपाल र बङ्गलादेश दुवै देशको शहरी यातायात व्यवस्थापनको समस्या उस्तै रहेको बताउनुभयो । बङ्गालादेशमा हरियो भन्ने ठाउँ नै सकिन लागे पनि काठमाडौँमा त्यो अवस्था आइनसकेकाले समयमा नै सोच्नुपर्नेमा उहाँको जोड थियो । गत सोमबारदेखि शनिबारसम्म लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा सम्पन्न एशियाली स्तरको भलिबल प्रतियोगिताका लागि प्रमुख इस्लाम नेपाल आउनुभएको थियो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast