सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    प्रचण्डलाई १५ महिनापछि अवसर, कार्यकारी अधिकार पाएलगत्तै यस्तो निर्देशन

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ७ भदौ । 
    तत्कालीन एमाले र माओवादी केन्द्रको एकताक्रममा दुई जना अध्यक्ष राख्ने सहमति भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैको बराबरी कार्यकारी भूमिका हुने भनिएको थियो । बैठक सञ्चालनमा आलोपालो अध्यक्षता गर्ने समझदारी थियो । तर एकता भएको १५ महिनासम्म दाहालले त्यो अवसर पाएनन् ।

    ओलीले बिहीबार सिंगापुर जानुअघि पार्टी बैठक सञ्चालन र एकताका बाँकी काममा समझदारी बनाउने जिम्मेवारी दाहाललाई दिएका छन् । कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका छन् । बिहीबारको बैठकमा अध्यक्ष ओलीसँग असन्तुष्ट नेता माधव नेपाललाई शुक्रबार बिहानै भेटेर उनले छलफल गरेका छन् ।

    कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र अब केही सहज भएको नेताहरूले बताएका छन् । ‘दुई अध्यक्ष भने पनि ओली प्रधानमन्त्रीसमेत भएकाले पार्टीभित्र दाहालको भूमिका सहयोगी अध्यक्षको जस्तो मात्र थियो,’ सचिवालयका एक नेताले भने, ‘प्रधानमन्त्रीले बल्ल पार्टी अध्यक्षको जस्तो व्यवहार गर्नुभएको छ, बराबरी हैसियतको अध्यक्षका रूपमा स्वीकार्नुभएको छ ।’

    ओली प्रधानमन्त्री बनेको तीन महिनापछि गत वर्ष जेठमा पार्टी एकताको औपचारिक घोषणा भएको थियो । त्यसपछि नेकपाको ९ सदस्यीय सचिवालयका दर्जनौं बैठक बसे । एक पटक केन्द्रीय समिति र तीन पटक स्थायी समिति बैठक बस्यो । ती सबैको अध्यक्षता ओलीले गरे ।

    अध्यक्षको हैसियत बराबरी हुने भएकाले बैठकमा आलोपालो अध्यक्षता गर्ने अनौपचारिक सहमति थियो । त्यो सहमति अहिलेसम्म लागू भएको थिएन । प्रधानमन्त्री भएपछि ओलीले आधा दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् । उनका अधिकांश भ्रमण एक साताभन्दा लामा थिए ।

    त्यतिबेला उनले दाहाललाई आफ्नो अनुपस्थितिमा औपचारिक बैठक सञ्चालन गर्न अनुमति दिएका थिएनन् । बरु सचिवालयका अन्य नेताबीच बसेको अनौपचारिक बैठकलाई समेत उनले शंकाको दृष्टिले हेर्ने गरेका थिए । ओली विदेशमा रहेका बेला दुई पटक दाहाल, वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो ।

    त्यसलाई ओलीले आफूविरुद्धको गठबन्धनका रूपमा बुझेका थिए । एकताका दर्जनौं काम रोकिएको अवस्थामा पनि ओली नभएका बेला बैठक बस्दैनथ्यो । यसअघि ओली उपचारका लागि सिंगापुर जाँदा १५ दिन बैठक रोकिएको थियो ।

    ‘पछिल्ला निर्णयहरूबाट प्रधानमन्त्री अहिले सबैलाई अझै राम्ररी समेटेर जानुपर्छ भन्ने तहमा पुग्नुभएको बुझेका छौं,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलेले भने, ‘अध्यक्षलाई आफू नभएका बेलामा पनि काम गर्नुहोस् भनेर हिँड्नु धेरै सकारात्मक कुरा हो ।’

    ओलीले पछिल्लो डेढ सातामा तीनवटा महत्त्वपूर्ण निर्णय गरे । पहिलो, प्रतिपक्षी दललाई समेत राखेर बालुवाटारमा बैठक गरे र संविधान पक्षधर शक्तिलाई एक हुन आग्रह गरे । दोस्रो, आफ्नो अनुपस्थितिमा प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने खालको निर्णय गरे । तेस्रो, दाहाललाई अध्यक्षको अधिकार प्रयोग गर्ने अनुमति दिए ।

    एकता प्रक्रियाअन्तर्गत केन्द्रीय आयोग, महानगरका सचिव तोक्नेलगायत केही काम बाँकी छन् । त्यसपछि पार्टीको अभियान सञ्चालन गर्ने एजेन्डा छन् । ती एजेन्डामा सहमति खोज्न दाहालले शुक्रबारबाटै भूमिका सक्रिय पारिसकेका छन् । उनले शुक्रबार वरिष्ठ नेता नेपालसँग मिलेरअघि बढ्नुपर्ने भन्दै छलफलगरेका छन् ।

    दाहालले ओलीसँगको पछिल्लो तिक्ततालाई बोकेर हिँड्न नहुने र सबै मिलेर पार्टीलाई अघि बढाउनुपर्ने प्रस्ताव गरेको उनको सचिवालय निकट स्रोतले बताएको छ । दाहालले सचिवालयका अन्य नेतासँग पनि अनौपचारिक छलफल गर्न सुरु गरिसकेका समाचार कान्तिपुरमा छ । 

    अनुशासनको सीमाभित्र बस्न निर्देशन
    यसैबीच दाहालले पार्टी नेता–कार्यकर्तालाई अनुशासनको सीमाभित्र बस्न सचेत गराएका छन् । जसले जे म लाग्यो त्यही बोल्ने प्रवृत्ति हावी भएको भन्दै उनले संयमता अपनाउन आग्रह गरेका हुन् ।

    ‘हामी हिजो निकै अनुशासित थियौं र यहाँ आइपुगेका हौं, आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं,’ शुक्रबार ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षणमा अध्यक्ष दाहालले भने, ‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको छ, यसलाई सच्याउनुपर्छ ।’

    उनले कम्युनिस्टहरू सत्तामा पुगेपछि राजा/महाराजाको जस्तो लक्षण देखिन नहुने बताए । सोभियत संघलगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण उल्लेख गर्दै उनले बुर्जॅवाहरूले कम्युनिस्टसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउँदा जनतालेउल्ट्याएको प्रसंग उल्लेख गरे ।

    ‘पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिस्ट नेताहरू राजा/महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्,’ उनले भने, ‘यस्तै प्रवृत्ति बढदै गयो भने पूर्वी युरोपमा जस्तै अवस्था आउन सक्छ ।’ दाहालले आचरण सुधार्न कार्यकर्तालाई आग्रह गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast