सोमबार, कार्तिक ४, २०७६
    राज्य-समाज

    ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै प्रचण्ड

    शनिबार, ७ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ७ भदौ।
    प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
    ले मनाउने प्रयास थालेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।

    प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमतिपत्र पार्टीमा बुझाएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ । ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा पार्टी एकताको बाँकी काम टुंग्याउन नेपाल सकारात्मक भए पनि आफ्नो अडान भने छाडेका छैनन् ।

    पार्टीमा एक व्यक्ति, एक पद हुनुपर्ने र सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेर गरेकोमा समेत चित बुझाएका छैनन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएपछि एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी अर्का अध्यक्ष दाहालले पाएका छन् । दाहालले सो जिम्मेवारी पाएसँगै वरिष्ठ नेतासँग सोही विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । पार्टी एकता घोषणा भएको १५ महिना बित्दासमेत एकताको केही काम टुंगो लगाउन अझै बाँकी नै छ । बाँकी काम टुंगो लगाउन दाहालले नेपाललाई सहमतिमा ल्याएर अगाडि बढ्न खोजेका हुन् ।

    सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व, जिम्मेवारी बाँडफाँडलगायतका काम नेकपाले टुंगो लगाइसकेको छ । अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो कमिटीका साथै आयोग, मञ्च, प्रवास कमिटी, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनेछ । यसैगरी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने विषयमा छलफल भएको छ । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ । एकताको बाँकी काम टुंगो लगाउँदै नेकपाले देशैभरि जागरण अभियानसमेत गर्ने तयारी गरेको समाचार राजधानीमा छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast