सोमबार, असोज ६, २०७६
    अावास-निर्माण

    पुरातात्विकस्थल काङ्क्रेविहार पुनःनिमाणका क्रममा ढुङ्गाको गजुर राखियो

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    सुर्खेत, ६ भदौ

    वीरेन्द्रनगर–९ स्थित पुरातात्विकस्थल काङ्क्रेविहार पुनःनिमाणका क्रममा गजुर राखिएको छ । कलात्मकशैलीमा रहेको ढुङ्गाको गजुर राखिएसँगै काँक्रेविहार पुनःनिमाण कार्य अन्तिमचरणमा पुगेको छ । पुरातत्व विभागले २०७२ सालदेखि यस क्षेत्रमा रहेका भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनःनिमाण आयोजना सञ्चालन गरेको हो । 

    गजुरसँगै काँक्रेविहारमा २१ मिटरअग्लो शिखर शैलीको ढुङ्गै–ढुङ्गाको मन्दिर निर्माण सम्पन्न भएको छ । अब ‘फिनिसिङ’को काम बाँकी रहेको ठेकेदार कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । पर्खाल, उत्तर–दक्षिण र मूल गेट निर्माणको काम पनि सम्पन्न भइसकेको छ । उत्खनन् स्थलमा पुरातत्व विभागले २०६१ सालमै मन्दिर बनाउन शुरु गरेपनि २०७२ सालदेखि पुनःनिर्माणले गतिलिएको हो । सिद्धबाबा कन्स्ट्रक्सन कम्पनीले रु आठ करोड १८ लाख ३५ हजार ८७० लागतमा पुनःनिर्माणको जिम्मा पाएको थियो ।

    वीरेन्द्रनगर ९ का अध्यक्ष सुरेशकुमार मानन्धरले भक्तपुरबाट मूर्तिकार (कालीगढ) ल्याएर पुनःनिमाणको काम सञ्चालन भएको जानकारी दिनुभयो । कालीगढले काँक्रेविहार संरक्षित वन क्षेत्रमा छरिएर रहेका कलात्मक ढुङ्गा–मूर्ति जोडेर निर्माणकार्य पूरा गरेको उहाँले बताउनुभयो । भक्तपुरका चार मूर्तिकारसहित २१ जना डकर्मी पुरानोस्वरुप मिलाउनदेखि टुटेफुटेका ढुङ्गामूर्ति जोड्ने कार्यमा थिए । 

    गजुर प्रतिस्थापन कार्यक्रममा गुम्बा निर्माण समितिका अध्यक्ष नोर्बु गुरुङले नेपालकै इतिहासमा २१ मिटर अग्लो शिखर शैलीको मन्दिर निर्माण हुनु गौरव गर्न लायक रहेको बताउनुभयो । पुरातात्विकस्थल काँक्रेविहारलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धा गर्ने गर्छन् । बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमै पाँच वर्षअघि यहाँ हिन्दू–बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादका कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति अझैं जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ । 

    स्थानीयवासी एवं कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले ऐतिहासिक काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल थाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै, वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले काँक्रेविहार प्रदेशको मात्र नभइ देशको महत्वपूर्ण सम्पदा रहेको बताउनुभयो । 

    “काँक्रेविहारको ऐतिहासिक, पौराणिक, सौन्दर्य र विविधतालाई जोगाउँदै यसलाई अध्ययन एवं दर्शन केन्द्रका रुपमा विकास गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “यसका लागि नगरपालिका प्रदेश तथा सङ्घीय सरकार, पर्यटन बोर्डलगायत सरोकारवाला निकायसँग सहकार्य गर्न तयार छ ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast