बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीसँग असन्तुष्ट माधव नेपाललाई फकाउँदै प्रचण्ड

    शुक्रबार, ६ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ६ भदाै । 

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका माधव नेपाललाई फकाउँदै छन् । प्रचण्डले नेता नेपाललाई फकाएर केहीदिनमै एकीकरणका बाँकी काम टुङ्ग्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

    बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेपछि एकीकरणका बाँकी काम टुङ्ग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

    पार्टी एकता घोषणाको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले बरियता घटुवामा परेर असन्तुष्ट बनेका वरिष्ठ नेता माधव कुमार नेपाललाई सहमतिमा ल्याएर नै एकीकरणको काम टुङ्ग्याउने तयारी गरेका छन् ।

    भदौ १ गते बसेको सचिवालय बैठकले हालसम्म तेस्रो बरियतामा रहेका नेता नेपाललाई चौँथो बरियता र चौंथो बरियतामा रहेका नेता झलनाथ खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेको थियो । सो निर्णयसँगै नेता नेपाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेका छन् । उनले आफ्ना असन्तुष्टि लिखितरुपमै सचिवालयमा दर्ज समेत गराइसकेका छन् ।

    नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालिन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् ।

    तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका छन् । सोही कारण ओली र नेपालबीचको संवाद समेत बन्द भएको छ । तर, अर्का अध्यक्ष प्रचण्डसँग भने नेता नेपाल संवादमै छन् ।

    प्रधानमन्त्री ओली सिंगापुर गएसँगै अध्यक्ष प्रचण्ड र नेता नेपालबीच पटक–पटक छलफल समेत भएको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफल केही सकारात्मक भएपनि नेता नेपालले अडान छोडेका छैनन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast