बिहिवार, असोज २, २०७६
    धर्म-संस्कृति

    के हो 'गुँला पर्व' ? कसरी मनाईन्छ ?

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर
    काठमाडौँ, ३ भदौ 
     
    ‘जयनमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस बिज्यात । ब्रह्मानं बँपुयेका सरस्वती बसा लायका अलंङ्कापुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।’
     
    देशको राष्ट्रिय पर्वका रुपमा रहेको काठमाडौँ उपत्यकामा एक महीनासम्म मनाइने गुँलाधर्ममा स्वयम्भू महाचैत्यदेखि विभिन्न स–साना चैत्यहरुमा बजाइने भगवान् बुद्धको गाथा समेटिएको प्राचीन गाथाको श्लोक हो । यो श्लोक गुँलाथ्व प्रतिपदा (साउन १७) देखि यँलाथ्व प्रतिपदा (भदौ १४) सम्म स्वयम्भू महाचैत्यदेखि स–साना चैत्यसम्ममा गुञ्जायमान भइरहन्छ ।
     
     
    कसरी मनाईन्छ ?
     
    गुँला पर्वमा बिहान सबेरैदेखि नेवारी बाजागाजाका साथ श्रद्धालु बौद्धमार्गी स्वयम्भू महाचैत्यको दर्शनका क्रममा यो प्राचीन सङ्गीतबाट शहर गुञ्जायमान हुन्छ । यसको नेपालीमा अर्थ हुन्छ : ‘भगवान् बुद्ध लुम्बिनी जाँदै गरेका बेला उहाँलाई लुम्बिनीसम्मका लामो बाटोभरि विभिन्न देवगणबाट सर्वोच्चस्तरको स्वागत भएको वर्णन यस श्लोकमा गरिएको छ । 
     
    अर्थात् लुम्बिनीसम्मको यात्रामा ब्रह्माले बाटोभरि कुचो लगाई दिनुभयो । सरस्वतीले बसा बिच्छ्याउनुभयो र अलङ्कापुरका राजा कुवेरले धनद्रव्य बिच्छ्याई शाक्यमुनि बुद्धको भव्य स्वागत भएको थियो । देवलोकका सारा देवगणहरुले आकाशबाट पुष्पवृष्टि गर्नुभएको थियो । 
     
    त्यस्तै महादेवले डमरु बजाउनुका साथै नारायणले शङ्ख फुक्नुभएको थियो । बुद्धको स्तुति गान गाइएको यो हजाराँै वर्ष पुरानो सुमधुर गीत गाउँदै प्रत्येक वर्ष गुँलाथ्व पारुदेखि यँलाथ्व पारुसम्म बौद्धमार्गी नेवार समुदाय बिहान सबेरै स्वयम्भू महाचैत्यको दर्शन गरी गुँला पर्व मनाउने गर्दछन् । यो एक महीनासम्म हरेक दिन बिहान ३ बजे उठेर नुहाइधुवाइ गरी आफूलाई शुद्ध पार्ने चलन छ । 
     
    गुँला बाजा के हो ?
     
    यो बाजालाई नेपाल भाषामा गुँला बाजा भनिन्छ । अझै पनि यो स्तुति गीतसँग सम्बन्धित थाङ्का, पौभा तथा चित्राअङ्कित भगवान् बुद्ध लुम्बिनी जाँदै गर्दा ब्रह्मा, विष्णु, महेश्वरसहित विभिन्न देवगनसहित तस्वीर नेवार समुदायको घरघरमा देख्न पाइन्छन् । जसमा बरुण नाम गरेको नागराजाको शरीरमा शाक्यमुनि बुद्ध विराजमान भई लुम्बिनीतिर गइरहेको थियो ।
     
    गुँला एक महीनालाई बौद्धधर्मावलम्बी धर्म सञ्चय गर्ने अवसरका रूपमा लिइन्छ । भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न स्वयम्भू महाचैत्यसहित बौद्ध स्तुप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवान् तथा बोधिसत्वको पूजा तथा प्रार्थना गर्ने गरिन्छ । यो पर्वमा बौद्ध धर्मावलम्बी परम्परागत बाजा बजाउँदै विभिन्न विहार तथा बहीमा स्तोत्र पाठ गर्दछन् । महायान बौद्ध धर्मको मूल आधारका रुपमा रहेको नव्याकर्णलाई विशेष महत्व दिँदै आएको छ । 
     
    यो एक महीनाभरि विहार तथा घरघरमा प्रज्ञापारमिता, गण्डव्यूह, दशभूमिश्वर, समाधिराज, लङ्कावतार, सद्धर्मपुण्डरिक, सुवर्णप्रभात, ललितविस्तर तथा गुह्य समाजतन्त्रको पाठ गर्ने प्रचलन रहेको मन्त्रसिद्धि महाविहारका बौद्धविद्वान् रत्नकाजी बज्राचार्यको गुँलाधर्म नामक पुस्तकमा उल्लेख छ । यसरी गुँला एक महीनाभर नौवटा ग्रन्थ पाठ गर्ने परम्परा नै गुँला धर्म भनिएको हो । 
     
    के छ विधी
     
    यो महीनाभरि कसैले मासु, कसैले रक्सी तथा कसैले धुम्रपान त्याग्ने गरिन्छ र स्वयम्भू महाचैत्य नजीक शान्तिपुरमा विशेष पूजा गरी आफूले त्यागेको रक्सी तथा मद्यपान फुकाउने चलन छ ।
     
    बौद्धविद्वान् मञ्जुश्रीरत्न बज्राचार्यले नेपाल संवत्अनुसार १०औँ महीनामा पर्ने गुँला पर्व (गुणिला) अर्थात् सम्पूर्ण प्राणीलाई गुण गर्ने अथवा अरुलाई उपकार गर्ने, धर्मकर्म गर्ने भएकाले यसको नाम गुँला भएको बताउनुभयो । यही समयमा तीन महीनासम्म भिक्षुहरु वर्षावासमा बस्ने गर्दछ ।
     
    उहाँका अनुसार गुँला धर्म महीनाभरि एक लाख २५ हजार चिभा (कालो माटोको चैत्य ) बनाउने चलन नेवार समाजमा छ । यस्तो बुद्धको चैत्य बनाउने कार्यलाई लख चैत्य वा लक्ष चैत्य पनि भनिन्छ । एक महीनासम्म अरूलाई उपकार वा दान प्रदान गर्ने परम्पराअनुरुप पञ्चदानको दिन दीपङ्कर बुद्धका रुपमा बज्राचार्य गुरुलाई दान प्रदान गर्ने गरिन्छ ।
     
    स्वयम्भू महाचैत्यको निर्माण भएदेखि नेपालमा गुँलापर्व मनाउँदै आएको वंशावलीमा उल्लेख भएको उहाँले जानकारी दिनुभयो । बज्राचार्यका अनुसार बज्रयान बौद्ध धर्मावलम्बीले धर्मदेशना गर्ने तथा बुद्धको वर्णन गरिएको तुत, पञ्च तथागतको ज्ञानलाई लय राखेर गाइने सङ्गीतबद्ध गीत पनि पाठ गर्ने गरिन्छ ।
     
    पञ्चशीललाई पालना गर्ने बौद्ध धर्मावलम्बीले यो महीना जाँडरक्सी तथा मासु तथा अण्डा त्याग गर्ने चलन छ । भिक्षुहरु अष्टशीलदेखि दशशील पालना गर्ने गर्दछ तर गृहस्थमा बस्ने मानिसले पञ्चशीलसम्म पालन गर्नुपर्छ तर व्यवहारमा सकिरहेको छैन, उहाँको भनाइ थियो । 
     
    संस्कृतविद् डा चुन्दा बज्राचार्यले बज्रयान बौद्ध धर्मावलम्बीले यो महीनाभरि बुद्धको उपासना गर्ने र विभिन्न बाजा बजाई स्वयम्भू महाचैत्यको दर्शन गर्ने तथा हिंसा त्याग गर्ने गर्दछन् ।
     
    के छ जनविश्वास 
     
    डा बज्राचार्यका अनुसार यो महीना अरू देवदेवीको पूजा गर्न नहुने तथा विवाहको कुरा गर्न नहुने जनविश्वास रहेको  छ । त्यस्तै आफ्नो वरिपरि पानी जमेको ठाउँमा ध्वँप्वा खोल्ने (ढल तथा नाल बन्द भए खोल्ने), वसुन्धरा देवी, पञ्चबुद्ध तथा क्वापाद्यो (मूल देवता तथा बोधिसत्व) को तुत पाठ गर्ने गरिन्छ । 
     
    यो पर्वमा नेवार समाजका  सायमी, उराय, बज्राचार्य, शाक्य, ताम्राकार, तुलाधर तथा कसाहरुले गुँला बाजा तथा धुन बजाउँदै स्वयम्भू महाचैत्यमा प्रस्थान गर्दछ । यो बाजालाई गुँला बाजा भनिन्छ । 
     
    गुँलापर्व अहिलेसम्मका अति पुरानो पर्वहरुमध्येमा एक मानिन्छ । बौद्ध विद्वान्हरुका अनुसार स्वयम्भू महाचैत्यको प्रादुर्भाव अघि नै चैत्यमा परिक्रमा गर्ने तथा सेवा गर्ने चलन थियो र कालान्तरमा त्यसलाई ‘गुँला धर्म’ भन्न थालियो । 
     
    भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि श्रावण शुक्ल प्रतिपदादेखि एक महीनासम्म गुँला धर्मको परम्परा बसाएका हुन् । स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका एउटा ठूलो दह थियो । विपश्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए । त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिरूपमा स्वयम्भू प्रादुर्भाव हुनुभयो । यसरी उत्पत्ति भएका ज्योतिस्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए । 
     
    महामञ्जुश्रीले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र आफ्नो खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले । पानी निस्किएपछि महामञ्जुश्रीले मञ्जुपतन नामको शहर स्थापना गर्नुभयो ।
     
    शहर स्थापना भएपछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थाल्यो । यसलाई चैत्य सेवा भनियो । कालान्तरमा ज्योतिस्वरूप स्वयम्भू विराजमान भएका स्थानमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेपछि चैत्य सेवालाई ‘गुँला धर्म’ भनिएको किंवदन्ती छ ।
     
    समाजसेवी शान्तरत्न शाक्यले चैत्य तथा विहारमा दीप प्रज्ज्वलनका साथै नामसङ्गीत, परित्राण पाठ, प्रवचन र धर्म उपदेशजस्ता आध्यात्मिक कार्यक्रम गरिने बताउनुभयो । भाद्र शुक्ल प्रतिपदाका दिन पारु भ्वय गरेपछि गुँलापर्व समापन हुन्छ । काठमाडौँका विभिन्न १७ वटा बहीमा बहिद्यः प्रदर्शन गरिने प्रचलन छ । उहाँका अनुसार गुँला धर्म नेपालको अहिलेसम्मकै पुरानो पर्व भएको र देशको पहिचान पनि गर्ने भएकाले यसको संरक्षण राज्यतहबाट नै गर्नुपर्छ ।
     
    द्यः थाय्गु–
     
    एक महीने गुँला पर्वमा द्यः थाय्गु एउटा मौलिक पहिचान झल्काउने महत्वपूर्ण प्रचलन रहेको छ । यसका लागि कुनै एक व्यक्तिले आफ्नो घरमा आयोजना गरेको द्यः थाय्गु  पूजामा धार्मिक विधिपूर्वक विशेष पूजा गरी कालो माटोबाट चैत्य बनाइन्छ  ।  गुँला पर्वको अन्तिम दिन सबै मिली तयार पारेका ती सबै चैत्यहरु जम्मा गरी नदीमा सेलाउने  प्रचलन छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast