शुक्रबार, कार्तिक २९, २०७६
    सार्क

    काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    वासिङ्टन, ३ भदौ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । 

    राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।” 

    व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गर्नुभएको छ । 

    काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ ।

    यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो । 

    भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानकाबीचमा फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast