बिहिवार, असोज २, २०७६
    विज्ञान/प्रविधि

    बुटवलका सुरक्षा संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    बुटवल, २ भदौ

    प्रदेश नं ५ सरकारले प्रदेशका मुख्य राजमार्ग क्षेत्र तथा जिल्लाका सुरक्षा संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरी नियन्त्रण कक्षबाट नियन्त्रण गर्ने कार्यको थालनी गरेको छ । प्रदेश सरकारले सिसिटिभीको नियन्त्रण कार्यको प्रदेशस्थित सुरक्षा निकायलाई जिम्मेवारी दिएको छ ।

    मुख्य राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनालगायत आपराधिक गतिविधिको जुनसुकै बेला पनि निगरानी राख्न प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयमा स्थापना गरिएको सिसिटिभी क्यामेरा नियन्त्रण कक्षको आज मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा उहाँले सुरक्षा निकायका लागि प्रविधि सधैँभरि स्वयम्सेवकका रुपमा काम गर्ने भएकाले सुरक्षा निकायका व्यक्तिले आफूलाई समेत सिसिटिभीको निगरानीमा राख्न सुझाव दिनुभयो । उहाँले प्रविधिलाई सही रुपले प्रयोग गर्न सकिए दुर्घटनामा कमी र सचेतना फैल्याउन सकिने भएकाले ट्राफिक नियम शिक्षासँगै यसको उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउने काम एकैसाथ गर्न सके जनतामा विश्वासको वातावरण बन्ने बताउनुभयो ।

    उहाँले सिसिटिभीको जडानसँगै राजमार्गमा हुने दुर्घटना त्यसपछिको उद्धार र अपराधपछि अपराधी भाग्ने र पत्ता नलाग्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट सुरक्षाका दृष्टिले जनता आश्वस्त हुने र अपराधी उम्कन नसक्ने अवस्था बनेको समेत बताउनुभयो । मुख्यमन्त्री पोखरेलले जडान गरिएका सिसिटिभीहरुको सही ढङ्गले परिचालन गर्न सक्ने प्राविधिक जनशक्ति तयार गरी दक्ष बनाउन तालीमको आवश्यकता पर्ने भएकाले सरकारले स्रोतको व्यवस्थापन गरी तालीम सञ्चालन गर्न सुझाव दिनुभयो । 

    प्रदेश सरकाको गत आर्थिक वर्षको रु तीन करोड विनियोजित बजेटमध्ये करीब रु दुई करोड ५९ लाखबाट प्रदेशका ११ जिल्ला, ५ नं ट्राफिक प्रहरी कार्यालय बुटवलमा गरी १४० थान सिसिटिभी खरीद गरी एक सय पाँच वटा जडान गरिसकिएका प्रहरी उपरीक्षक मधुसूधन लुइँटेलले जानकारी दिनुभयो ।

    बुटवलका विभिन्न आठ स्थानमा जडान गरिएका सिसिटिभीको कन्ट्रोल प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट हुनेछ भने अन्य जिल्लामा जडान गरिएका क्यामेराको नियन्त्रण हाललाई सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारले भविष्यमा फाइबर केबुलका माध्यमबाट सबै जिल्लामा जडान गरिएका क्यामेराको बुटवलबाट नै नियन्त्रण गर्ने व्यवस्था गर्ने योजना रहेको छ । सिसिटिभी नियन्त्रण कक्षको उद्घाटनपछि यसको सञ्चालनबारे जानकारीपछि मख्यमन्त्री पोखरेलले यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी काम अघि बढाउन सकिने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast