बुधबार, कार्तिक २७, २०७६
    लेख/संवाद

    भरतपुरका एक परिवार : सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् !

    आईतवार, १ भाद्र २०७६, - सुरेन कुँवर.

    रत्ननगर, १ भदौ ।

    सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । 

    भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् । 

    गाउँघरमा सर्प देखिँदा उहाँहरुलाई बोलाइन्छ । उहाँहरु तुरुन्तै पुगेर उद्धारमा जुट्नुहुन्छ । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्नुहुन्छ । “घरमा सर्प पस्यो भन्दै फोन आउँछ”, उहाँले भन्नुभयो, “सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करीब १० मिनेटमा उद्वारको काम सकिन्छ ।”

    एक महीनामै आठ सर्पको उद्वार भएको छ । उहाँ सर्पलाई बचाउनुपर्ने तर्क राख्नुहुन्छ । “सर्पलाई उद्वार गर्र्दा सन्तुष्टि मिलेको छ”, सापकोटाले भन्नुभयो, “सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ ।” सर्प लोप भएमा भावी सन्ततिले कथाका रुपमा कल्पना गर्नुपर्ने दिन आउने बताउनुहुन्छ । सर्प उद्वार गरेवापत कुनै रकम लिनुहुन्न ।

    चितवनमा मात्रै होइन, उहाँले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गर्नुभएको छ । बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाउनुभएको थियो । नेपाली सेनामा हुँदा उहाँले सर्पको कहिल्यै उद्धार गर्नु नभएको भएपनि सर्प संरक्षणमा जुट्नुभएको छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उहाँ पनि सर्प संरक्षणमा लाग्नुभयो । 

    “छोराले सर्प बचाउनुपर्छ भन्यो, “जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ”, उहाँले विगत सम्झदै भन्नुभयो, “विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ ।  वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।” 

    उहाँ सर्प मार्न नहुनेमा अडिग हुनुहुन्छ । “मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरणलार्ई धेरै घाटा हुन्छ र मानव अस्तित्वलाई नै सङ्कट पु¥याउँछ”, उहाँले भन्नुभयो, “सर्पको विष औषधिका रुपमा समेत प्रयोग हुन्छ, ‘एन्टी स्नेक भेनम’ बन्छ,  अन्य रोगविरुद्धको औषधि पनि बन्दो रहेछ ।” 

    उहाँ सर्पलाई सम्पत्तिका रुपमा चित्रण गर्नुहुन्छ । उहाँले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेर ल्याएको जानकारी दिनुभयो । अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्वार गरी जङ्गलमा छाडेको उहाँको भनाइ छ । 

    अहिले उहाँले सर्प राख्नकै लागि काठको कोठा भएको दराज बनाउनुभएको छ । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लाष्टिकको भाँडामा जम्मा गर्दै आउनुभएको छ । उद्वार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जङ्गलमा लगेर छाड्ने गर्नुहुन्छ । “जङ्गलमा राम्रो वातावरण मिल्छ, हुर्किन पाउँछन्, स्वतन्त्र भएर डुल्न पाउँछन्”, उहाँले भन्नुभयो, “बस्तीमा आउँदै सबैले खेद्छन्, जोगाउन जङ्गल नै उपयुक्त छ ।”

    उहाँ सर्पको महत्व बुझाउने अभियान पनि चलाउने गर्नुहुन्छ । उहाँ  भन्नुहुन्छ, “घातक रोगहरुको औषधि बन्छ । करेतमा धेरै विष हुन्छ, जसलाई प्रशोधन गरेर धेरै मात्रामा औषधि बनाउन सकिन्छ, धामिनले धानका मुसा खान्छ, फाइदा किसानलाई नै पुग्छ ।”

    खानाको खोजीमा सर्प घर पस्ने गरेको उहाँ बताउनुहुन्छ । घरमा पस्यो भन्दैमा मारिहाल्न नहुने उहाँको तर्क छ । सापकोटाले अहिलेसम्म सर्प उद्वारसम्बन्धी कुनै औपचारिक तालीम भने लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “टिभीबाटै सिकेको हुँ, हेरेर सिकेको ज्ञानका आधारमा सर्पलाई समात्ने गरेको छु ।” 

    पछिल्लो समय उहाँलाई केही मानिसले सर्प संरक्षण गरेका कारण यसको सङ्ख्यामा वृद्धि भएको आरोप लगाउने गरेका छन् । सापकोटाले उद्वार गरेका सर्पबारे तथ्याङ्क राख्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “विषालु मानिएको राज गोभन (किङ कोब्रा) र करेत समातेपछि मलाई थप हौसला बढ्यो ।” तीन वर्षअगाडि गैँडाकोटको प्रहरी चौकीको भ्यानको इञ्जिनबाट नौ फिट छ इन्चको राज गोभन (किङ कोब्रा) उद्वार गरेको स्मरण गर्नुभयो ।

    सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उहाँको भनाइ छ । “सर्पलाई जिस्क्याएमा मात्रै प्रतिकारमा उत्रन्छ”, उहाँले भन्नुभयो । सापकोटाले सर्प संरक्षणका लागि सरकारले छुट्टै बजेट छुट्याउन माग गर्नुभयो । अनिरुद्र आजभोलि गोही संरक्षणमा पनि जुट्न थाल्नुभएको छ । 

    उहाँ मात्र होइन, घरका सबै सदस्य अहिले सर्पको संरक्षण लाग्नुभएको छ । घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उहाँलाई यो काम गर्न निकै सजिलो भएको छ । उहाँकी श्रीमती जानकी भन्नुहुन्छ, “कम विषालु सर्प मैले पनि उद्वार गर्छु ।”

     सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानवजातिलाई नै प्रत्यक्ष असर पुग्ने उहाँको बुझाइ छ । सुत्ने पलङभित्र परेका कयौँ सर्पलाई उद्वार गरेको उहाँको स्मरण छ । 

    उहाँहरुका छोरा सुनिल अहिले सर्पको विषबारेको अध्ययन अनुसन्धान गर्न भूटानमै हुनुहुन्छ । सुनिलले भूटानमा अध्ययनसँगै त्यहाँका सर्पको प्रकार र सङ्ख्या गणना गर्ने काम गरिरहनुभएको आमा जानकी बताउनुहुन्छ । 

    अहिले सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्यदृश्य (भिडियो) निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासमा हुनुहुन्छ । सर्पबारे भिडियो निर्माण गर्न उहाँका तीन वर्षका नातिदेखि छोरी, बुहारी र श्रीमतीले सहयोग गर्दै आइरहेका छन् । नेपालमा २०० भन्दा बढी प्रजातिका सर्पहरु पाइन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast