शुक्रबार, मंसिर २०, २०७६
    स्कुल-कलेज

    एलएलएम प्रवेश परीक्षामा अनियमितता : एक सातामै नतिजा उल्टिएपछि…

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २९ साउन

    मास्टर अफ ल भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा एक सातामै उल्टिएपछि डिनको कार्यालयमा तालाबन्दी गरिएको छ । साथै अख्तियारमा उजुरी पनि  परेको छ ।

    एक साताअघि लिइएको प्रवेश परीक्षाको नतिजा अनुसार भर्नाको तयारीमा रहेका विद्यार्थीहरु एकाएक नतिजा उल्टिएपछि आक्रोशित भएका हुन् । एक साताअघिको नतिजाअनुसार १३४ नम्बरमा रहेका विद्यार्थीको एक सातापछि पहिलो नम्बरमा नाम निस्किएको छ ।

    व्यापक अनियमितताका कारण यस्तो भएको भन्दै आक्रोशित विद्यार्थीले डिन कार्यालयमा ताला लगाएका हुन् । प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको हो ।

    कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएपछि विद्यार्थीहरु आश्चर्यचकित बनेका छन्। डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ।

    पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा झरेका छन्। डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ। तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् । 

    यस विषयमा छानबिन गर्न त्रिवि केन्द्रले छानबिन कमिटी गठन गरेको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast