शनिबार, भाद्र ७, २०७६
    आर्थिक खबर

    प्रतिताेला ७ सयले घट्याे सुनकाे मूल्य, केहि दिन अझै घट्ने

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २९ साउन । 

    नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । बुधबार सुनको मूल्य प्रतिताेला ७ सयले घटेकाे हाे । 

    मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आजर ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ । 

    महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले विश्व बजारमा नै सुनको मूल्य घटेको बताए । विश्वकर्माका अनुसार सुनको मूल्य अझै घट्न सक्छ ।  २–४ दिनसम्म मूल्य घट्ने अनुमान उनकाे छ।

    गत एक हप्तादेखि निरन्तर मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य बुधबार तोलामा ७ सयले घट्यो तर कारोबार भने न्यून नै रहेको छ । “मूल्य केही घट्यो तर कारोबार न्यून नै छ । २–४ दिन निरन्तर घट्छ भन्ने ग्राहकले अनुमान गरेका छन् । यस्तो सोचाइ सामान्य हो । त्यसले गर्दा कारोबार न्यून छ । तीज आउन लागिसकेकोले भोलिसम्म मूल्य घट्यो भने कारोबार बढ्छ,” उनले भने । आज १० देखि १२ किलोसम्म मात्र सुन किनबेच हुने अनुमान विश्वकर्माले गरेका छन् । 

    पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast