मंगलवार, भाद्र ३, २०७६
    राज्य-समाज

    नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, स्कूल विभागको किचलो सकिएला ?

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २९ साउन । 

    नेकपाको बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

    सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्नुहुने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गर्नुभएको थियो । सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार गर्न लागिएको छ । ।

    यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

    नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता नारायण काजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो ।

    अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

    अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले हिजो बस्ने भनिएको बैठक आज सरेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast