सोमबार, मंसिर २, २०७६
    राज्य-समाज

    एन्थ्रेक्स पुष्टि भएपछि सावधानीको प्रयास

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    इटहरी, २८ साउन

    कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा ‘एन्थ्रेक्स’कोे जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई सूचीत गरेको छ  ।

    बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बरको सिमानामा पर्ने आरक्षसँगै चरण क्षेत्रमा मरेका चौपायामा एन्थ्रेक्स जीवाणु फेला परेसँगै तीन किलोमिटर क्षेत्रमा सङ्क्रमण फैलन नदिन चुना छरिएको छ ।

    बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले चौपाया मरेका स्थान वरपरको क्षेत्रमा चुना छरिएको जानकारी दिनुभयो । खनालका अनुसार आरक्षमा खुल्ला चरणका लागि छाडिएका चौपाया यकिन गर्नसक्ने अवस्थामा नरहेकाले अहिले नै यसको व्यापकताको विषयमा भन्न सकिँदैन ।

    ठूलो सङ्ख्यामा चौपाया खुला छाडिएको हुनाले सबैमा खोप लगाउन सक्ने अवस्था नरहेकाले सङ्क्रमित र शङ्कास्पद मानिएको क्षेत्रमा चुना छर्ने काम गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एन्थ्रेक्स मानिसमा समेत सर्नसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विराटनगरस्थित ल्याबको रिपोर्ट प्राप्त भएको बताउनुभयो । एन्थ्रेक्स पाइएको बताइएकाले सावधानीसहितका उपायहरु अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

    प्रजिअ राउतका अनुसार स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनका साथै प्रदेशसहित जिल्ला र स्थानीय तहमा रहेका पशु चिकित्सकसहित प्राविधिकसहितको टोली सङ्क्रमण देखिएको स्थानमा खटिएका छन् ।

    चौपायाहरु हेरेर बिरामीको लक्षण देखिएकाको हकमा अलग्गै राख्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र इनरुवाले जनाएको छ । सुनसरी प्रशासनका अनुसार आरक्ष क्षेत्रमा छाडिएका चौपाया सम्बन्धित धनीलाई लिएर जान सूचना जारी गरिएको छ ।

    मध्यवर्ती क्षेत्रसहित आसपासका बासिन्दालाई सचेत रहनुका साथै सावधानी अपनाउन र चौपाया आरक्ष क्षेत्रमा नछाड्नु भन्ने आशयको सूचना र जानकारी स्थानीय निकाय र सरोकारवालाबाट प्रवाह गर्ने गरी बन्दोबस्त मिलाइएको प्रजिअ राउतले जानकारी दिनुभयो ।

    कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले विराटनगरको पशु चिकित्सकसहितको टोली चौपाया मरेको क्षेत्रको स्थलगत निरीक्षणमा खटिएको जानकारी दिनुभयो । उहाँले विराटनगरले एन्थ्रेक्स भएको बताए पनि केन्द्रीय ल्याबको रिपोर्टको पर्खाइमा रहेको बताउनुभयो  । 

    यद्यपि आरक्ष प्रशासनले अहिलेसम्म विराटनगरको प्रयोगशालाले दिएको प्रतिवेदनलाई विश्वास नगरेकाले प्रभावित क्षेत्रमा प्रथामिक रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा शुरु हुन नसकेको त्यसक्षेत्रको निगरानीमा रहेको पशु प्राविधिकहरुले गुनासो गरेका छन् । 

    पशु प्राविधिकहरुसँग अझै पनि आरक्ष प्रशासनले थप गाईवस्तु मृत फेला नपरेकाले विषादी हुनसक्ने धारणा राख्दै आएको बताइएको छ । कोशी टप्पु क्षेत्रमा एन्थ्रेक्सको जिवाणु भेटिए पनि इनरुवा नगरपालिका यसलाई नगरमा फैलन नदिन सचेत गराइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast