शुक्रबार, मंसिर २०, २०७६
    राज्य-समाज

    ३ दिनसम्म देशभर मेघ गर्जनसहितको भारी वर्षा हुने

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन

    सोमबार देखि ३ दिनसम्म लगातार देशका विभिन्न स्थानमा मेघ गर्जनसहितको वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन । साथै आगामी ३ दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ ।

    महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिम पहाडी भूभाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

    महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए। यसैगरी पूर्वका एक/दुई स्थानमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए ।

    पर्सिदेखि भारी वर्षाको सम्भावना अझ बढ्ने मौसमविद् श्रेष्ठको अनुमान छ। उनका अनुसार दक्षिण भारतमा रहेको न्यून चापीय रेखा उत्तर नेपालतर्फ सरिरहेकाले पर्सि अर्थात् बुधबार सम्ममा त्यसको पश्चिमी टुप्पो नेपालको पश्चिमी क्षेत्रको माथि आइपुग्ने सम्भावना छ।

    ‘त्यो आएपछि पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना बढ्छ,’ श्रेष्ठले नेपालखबरसँग भने,’ साथै त्यसको असर देशैभर बढ्नेछ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast