शनिबार, भाद्र ७, २०७६
    राज्य-समाज

    तलब राेकिने भएपछि धमाधम प्यान लिँदै सांसदहरु

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २७ साउन ।

    सरकारले तलब लिन प्यान  अर्थात् स्थायी लेखा नम्बर अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्। संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएपछि उनीहरुले धमाधम प्यान लिन थालेका हुन्।

    ‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमूख वसन्तराज सिग्देलले भने, ‘केही सांसदहरूले भर्खरै आफ्नो प्यान नम्बर बुझाउनु भएको छ। केहीले बुझाउने क्रममा हुनुहुन्छ। बीस तीस सांसदले मात्र बुझाउन बाँकी छ।’ सिग्देलले धेरै जसो सांसदले प्यान नम्बर बुझाएको बताए पनि स्रोतका अनुसार अझै पचास प्रतिशत सांसदले स्थायी लेखा नम्बर नबुझाएकाे जनाइएकाे छ।

    संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सांसदहरूलाई प्यान नम्बर लिने तरिका सिकाउन नोट समेत तयार पारेको छ। प्यान नम्बरबारे बुझ्न जाने सांसदहरूलाई करदाता कार्यालयको वेबसाइटमार्फत् कसरी फारम भर्ने भन्ने सूचना सचिवालयले दिने गरेको छ।

    संघीय संसदमा अहिले ३ सय ३३ सांसद छन्। सरकारी अधिकृत सरह तलब सुविधा पाउने स्वकीय सचिवले पनि तलब बुझ्न अब प्यान नम्बर बुझाउनुपर्नेछ।

    यसैबीच सांसदहरूको साउन महिनाको तलब भत्तामा ढिलाइ हुने भएको छ। सांसदहरूको तलब बढ्ने र नबढ्ने अझै निश्चित छैन। पदाधिकारीहरूको तलब बढाउने तयारी भए पनि राजपत्रमा अझै बढेको वृद्धिको सूचना प्रकाशित भएको छैन।सांसदहरूको तलब वितरण भएपछि मात्र संघीय संसद सचिवालयका कर्मचारीहरूले तलब पाउँदै आएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast