शनिबार, मंसिर २१, २०७६
    कृषि-उर्जा

    एक रातमै बगर बन्यो धानखेत, किसानले आँशु थाम्न सकेनन्

    सोमबार, २७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २७ साउन । 
    अघिल्लो दिनसम्म लहलह धानखेतमा पानी लगाएका मण्डनदेउपुर नगरपालिका–११ का रमेश खनालको आँखा रसाए । अघिल्लो साँझ हराभरा रहेको धानखेत एकाबिहानै बगरमा परिणत भइसकेको थियो । जीविकोपार्जनको मुख्य आधार धानखेत बाढीले बगाएसँगै रमेशजस्तै धेरै किसान चिन्तित छन् ।शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले काभ्रेको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा वितण्डा नै मच्चाएपछि सयौं किसान समस्यामा परेका छन् । नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि शनिबार राति चाखोल उर्लिएको थियो ।

    बाढीले सयौं रोपनी जग्गामा लगाएको धानबाली पूर्ण रूपमा नष्ट गरेको छ । अविरल वर्षासँगै रातको समयमा आएको बाढीले आफूहरूलाई समस्यामा पारेको मण्डनदेउपुर प्रमुख टोकबहादुर वाइवाले बताए । हरेक वडामा बनाएका सडक संरचनालाई बाढीले नराम्रोसँग असर पारेको वाइवाले बताए । ‘हाम्रो नगरपालिकाको सबै वडामा बाढी र पहिरोले असर पारेको छ,’ वाइबाले भने । मण्डनदेउपुरमा निर्माणको चरणमा रहेकाले मोटरबाटोमा पहिरो आएर आन्तरिक रूपमा मण्डनदेउपुरका धेरै वडामा सडक सञ्जाल विच्छेद भएको छ ।

    त्यस्तै, बिजुली र टेलिफोन सञ्चालन हुन सकेका छैनन् । काभ्रेको मण्डनदेउपुर–१० चण्डेनीका पत्रकार ज्ञानमणि नेपालले आफू अत्यधिक वर्षापछिको बाढी पहिरोकै कारण नाकाबन्दीमा परेको बताए । टेलिफोन, सडक र विद्युत् सञ्चार कटौतीले गाउँमै यतिबेला नाकाबन्दीको महसुस गरेको पत्रकार नेपालले बताए ।

    बाढीको कारणले चनौटे फाँट, चाखोला फाँट र जैसीथोक फेदी फाँटमा रोपिएको धान बगरमा परिणत भएको हो । बाढीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा असर गरेमो छ । अरनिको राजमार्गका तीन ठाउँमा सडक नै बाढीले कटान गरेसँगै यातायात एकतर्फी रूपमा सञ्चालित छ । दोलालघाट क्षेत्रका आधा दर्जन घर बाढीले भत्काएको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले अर्बौंको क्षति भएको बताए । बाढीले सडकसँगै खोलाछेउका घरमा समेत असर पारेको उनले बताए । कटानको कारणले केही घरमा पूर्ण रूपमा क्षति पुगेको कुँवरले बताए ।

    बाढीले सडक बगाएपछि स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्थलगत निरीक्षण गरेका समाचार राजधानीमा छ । काभ्रेमा प्रहरी उद्धार तथा राहतमा निकै सक्रिय देखिए पनि नेपाली सेना र सशस्त्र प्रहरी बल भने निष्क्रिय रहेको स्थानीयको आरोप छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast