बुधबार, कार्तिक ६, २०७६
    लेख/संवाद

    कश्मीरमा देखा परेको तनाव र त्यसबाट पर्नसक्ने क्षेत्रीय असरहरु

    आईतवार, २६ श्रावन २०७६, - तारा प्रसाद पौडेल.

    मस्कट ओमान, २६ साउन ।

    सन् १९४७ अघिसम्म एउटा देशको हैसियतमा रहेको धर्तीकै स्वर्ग मानिने जम्मु कश्मीर त्यसपछि भएको भारत पाकिस्तान बिभाजनसँगै आफ्नो स्वतन्त्र अस्तित्व समेत गुमाउन पुग्यो । साँढेको जुधाईमा बाच्छा मिचिएजस्तो दुई ठुला देशको लँडाइमा कश्मीर पनि थिचिन पुग्यो। 

    भारतीय स्वतन्त्रता संग्रामको बिजय पश्चात आ आफ्नो स्वतन्त्रता स्थापित गरेका भारत र पाकिस्तान दुबैको नजर तत्पश्चात सामरिक महत्व बोकेको कश्मीर माथि पर्न गयो जसमा कालान्तरसम्म पनि कुनै सहमती हुने सम्भावना पनि थिएन। हजारौँ हजारले ज्यान गुमाइसकेको र तत्काल सल्टीने कुनै छाँटकाँट नदेखिएको यस मुद्दा केही दिन अघि ५ अगष्ट २०१९ मा भारतले नयाँ कदम चालेपछि फेरि एकपटक पेचिलो बनेर प्रस्तुत भएको छ । 

    पाकिस्तान पिओके आफुले छाडी आइओके लाई समेत गाभेर स्वतन्त्र कश्मीरबारे बहष गर्न चाहन्छ । उता भारत त्यसलाई ठाडै अस्विकार गरी पिओके पनि भारतमा हुनुपर्छ भन्ने मान्यता राख्छ । जसलाई उ राजा हरि सिंहसँगको सहमतिको हिस्सा भन्ठान्छ।

    अहिले दिनहुँजसो विरोधको आगो बलिरहेको कश्मीरका सर्वसाधारण जनता कफ्र्युको चपेटामा परेको छ ।

    भारतको सत्तामा आसीन शक्तिशाली बिजेपी सरकारले हालै मात्र कश्मीरले यसअघिसम्म उपभोग गर्दै आएको विशेष राज्यको दर्जा खोसेसँगै  बिश्वराजनीतिमा समेत त्यसको थुप्रै असर पार्न सक्ने आँकलन गरिएका बेला अब  यसले पारेका र अरु पार्नसक्ने क्षेत्रीय असरहरुबारे चर्चा गर्नुपुर्व यसको रक्तरञ्जीत इतिहासबारे समेत केही चर्चा गर्नु उपर्युक्त देखिन्छ।

    सन् १९४७ पुर्व बेलायती साम्राज्यको अधिनमा रहेको भएपनि कश्मीर राजा शासित आफ्नै देशको हैसियतमा थियो।

    कहिले मुगल राजा त कहिले हिन्दु राजाले शासन गरेको कश्मीर पछि आएर भारत र पाकिस्तानबीचको जुँगाको लँडाईको रणभूमि बन्न पुग्यो । 

     

    मुस्लिम बाहुल्य क्षेत्र

    दुबै देशले आआफ्नो क्षेत्र भनी दावी गरिएको जम्मु कश्मीरमा अधिकांश जनसंख्या मुस्लिम भएका कारण भारत र पाकिस्तानबीच सधैं त्यो टाउको दुखाईको विषय बन्न पुग्यो ।

    एकातर्फ मुस्लिम जनसँख्या बढी भएको यस क्षेत्रलाई पाकिस्तानले सधैं आफ्नो बनाउन चाहिरह्यो भने अर्कोतर्फ १९४७ पछि आफ्नो नियन्त्रणमा रहेको निकै नै सुन्दर र उन्नत क्षेत्रलाई भारतले पनि गुमाउन चाहेन ।  

    एकातर्फ दुई देशको सैन्य लडाई र अर्कोतर्फ कश्मीर आन्दोलन कहींकतै सेलाउने छाँटकाँट नदेखिएपछी तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले १७ अक्टुबर १९४९ मा आफ्नो बन्दै गरेको संविधानमा कश्मीर बिशेषाधिकार अनुच्छेद ३७० को ब्यबस्था गरी बिशेष अधिकार सहितको स्वायत्त प्रदेश बनाउन बाटो प्रशश्त गरिदिए ।

    सन् १९४७ अघि समयमा शासनमा रहेका तत्कालीन कश्मीरी राजा हरि सिंह कश्मीरलाई आफ्नै हैसियतमा राख्न चाहन्थे । उनी आफु हिन्दु थिए भने क्षेत्र मुस्लिम बाहुल्य थियो ।  यस्तो अवस्थामा भारत र पाकिस्तानको कडा नजर तथा धर्म सहित गरी त्रिपक्षीय चपेटामा परेका  राजा अन्तत भारततर्फ लम्किए । 

    तर, उतिबेला नै भर्खरै पाकिस्तानलाई भारतबाट अलग गराउन नेतृत्व गरेका मोहम्मद अली जीन्ना (जसको तस्विर पाकिस्तानी मुद्रामा राखिन्छ) लाई यो कुरा राम्ररी थाह थियो कि कुनै पनि हालतमा कश्मीरलाई भारतको हिस्सा हुन दिनुहुन्न भन्ने। अर्कोतर्फ प्राकृतिक सम्पदाले भरीपुर्ण अग्लो स्थानमा अवस्थित त्यो सुन्दर कश्मीर छाड्नु भारतको लागि पनि सामरिक हिसाबले खतरा थियो जुन नेहरु र सरदार पटेल जस्ता भारतीय हस्तिहरुले राम्ररी बुझेका थिए। 

    उता जीन्नालाई भने कश्मीरलाई आफूहरुले जुनै हालतमा कब्जा गर्न सक्ने तथा त्यसमा भारत तगारो नबन्ला भन्ने कुराको भ्रम थियो । यस्तो सेरोफेरोमा दुई देशको खितातानीमा चेपिएका राजा हरि सिंह भारतसँग सम्झौता गर्न तम्सिए। पाकिस्तानले तुरुन्तै आफ्नो फौज कश्मीर पठायो र सबै क्षेत्रमा सैनिक परिचालन गर्यो । त्यस्तै, हरि सिंहले पनि भारतलाई पत्र लेखि सैनिक हस्तक्षेपको आग्रह गरेपछी कश्मीर रणमैदानमा परिणत भयो। उक्त युद्धमा जम्मु कश्मीरको दुई तिहाई हिस्सा भारतको कब्जामा पर्यो जसलाई पाकिस्तान भारतिय भुमी नमानी आइओके अर्थात् इण्डियन अकुपाइड कश्मीर भन्ने गर्छ। 

    त्यस्तै, एक तिहाई कश्मीरी हिस्सा पाकिस्तानले पनि जोगाइराख्न कामयाब भयो जसलाई भारतले पिओके भन्ने गर्छ। साथसाथै पाकिस्तानले बलुचिस्तानमा भने कब्जा जमायो जो मुद्दालाई भारतले बेला बेला उठाउने समेत गर्छ । वास्तवमा बलुचिस्तान पनि कश्मीरको जस्तै कथा बोकेको राज्य थियो। त्यही युद्धलाई  भारत पाकिस्तान पहिलो युद्ध १९४७ भनिन्छ। त्यसबेला दुबैतर्फ ठुलो हताहती भएको युद्धको जीतको श्रेय भने भारतले लिने गर्छ। 

    कश्मीर कब्जा गरी बसेका पाकिस्तानी सैनिक भगाउन सफल भारतले उनै राजा हरि सिंहसँग जम्मु कश्मीरलाई भारतमा गाभ्ने एउटा सम्झौतामा हस्ताक्षर गर्यो तर पाकिस्तानले उक्त सम्झौतालाई धोकाधडी भन्दै ठाडै अस्विकार गरिदियो। दुई तिहाई हिस्सा गुमाउनु परेपछी पाकिस्तानका अली जीन्नाले भारतसँग लामो लडाई लड्नुपर्ने संकल्प गरेका थिए। त्यसबेला उनले भनेका थिए हामी आधा पेट खाएर बाँच्नेछौँ तर आणविक शक्ति सम्पन्न राष्ट्र भएरै छोड्ने छौँ।

    त्यस घटनाक्रम पछी नै पाकिस्तानले आणविक हतियारको विकास गरेको थियो । हुनपनि अहिले पाकिस्तानसँग ठूलो सँख्यामा आणविक हतियार छन् । 

     

    राष्ट्रसंघको मध्यस्थता

    तत्कालीन समयमा दुबै तर्फबाट निरन्तर आक्रमणहरु भइ नै राखेपछी सन् १९४८ मा संयुक्त राष्ट्रसंघको पहलमा वार्तामार्फत दुवै देशले युद्धबिराममा हस्ताक्षर गरेका थिए । त्यसयता अहिलेसम्म पनि निरन्तर सिमामा आक्रमण भइनै रहन्छन् । मुलतः सोही मुद्दामा केन्द्रित रहेर अहिलेसम्म भारत पाकिस्तानबीच १९४७, ६५, ७१ र १९९९ गरी ठुला ४ युद्ध भइसकेका छन्। यद्यपी, सन् १९७१ को युद्ध बंगालादेश टुक्रिएको बिषय अनि कश्मीर बिषयमा समेत केन्द्रीत थियो।

    कश्मीर भारतमा गाभिने उक्त बिवादास्पद सम्झौतापश्चात कश्मीरमा हिन्दु र मुसलमान २ भागमा बाँडिएर अर्को ठुलो आन्दोलनको बिजारोपण भयो। मुस्लिमहरु पाकिस्तानको साहारा लिंदै आजाद कश्मीरको नारा मर्नै परेपनि नछोड्ने गरी आन्दोलनमा होमिए भने हिन्दुहरु जीउधनको लागी मौन बस्नुपर्ने अवस्था आयो। एकातर्फ दुई देशको सैन्य लडाई र अर्कोतर्फ कश्मीर आन्दोलन कहींकतै सेलाउने छाँटकाँट नदेखिएपछी तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले १७ अक्टुबर १९४९ मा आफ्नो बन्दै गरेको संविधानमा कश्मीर बिशेषाधिकार अनुच्छेद ३७० को ब्यबस्था गरी बिशेष अधिकार सहितको स्वायत्त प्रदेश बनाउन बाटो प्रशश्त गरिदिए ।

    तर, राजनीतिमा निकै नै चलाख खेलाडी नेहरुले रक्षा र परराष्ट्र आफ्नै हुने ब्यबस्था गराएका थिए। तर, धारा ३७० ले पनि कश्मीरलाई शान्त भने राख्न सकेन । अहिलेको बिजेपी अर्थात् तत्कालीन भारतीय जनसंघले यसको बिरोध गर्यो भने मुस्लिमहरुले त्यसलाई अपुर्ण भनी त्यसैमा टेकेर आजाद कश्मीर बनाउने आन्दोलन जारी राखे। एकै देशमा दुई झण्डा २ बिधान र २ निशान हुन सक्दैन भन्दै कश्मीर पसेका तत्कालिन जनसंघका संयोजक डा श्यामा प्रसाद मुखर्जी गिरफ्तारी पछी जेलमै शंकास्पद रुपमा मारिए। 


    लाखौंको ज्यान हताहती  

    सन् १९४७ पछिको ७२ बर्षे इतिहासमा यो आन्दोलनमा सबै गरी १ लाख भन्दा बढीको ज्यान गइसकेको छ भने पछिल्लो ३० बर्षमा मात्रै ४२ हजार बढी सर्बसाधारण मारिइसकेका छन् । मानव अधिकारको चरम दुरुपयोग हुने क्षेत्रमा कश्मीर अगाडी आउँछ। भारत आन्दोलनकारीलाई आतंककारीको नजरले हेर्ने गर्छ तथा बिश्वको सबैभन्दा बढी सैनिक परिचालित क्षेत्र पनि कश्मीर नै हो। भारतिय कंग्रेस सत्तामा छँदा थोरै नरमता देखाएको कश्मीरमा बीजेपी सत्तामा आएपछी तिब्बतलाई चाइनाले कठोर दमन गरेझैँ उस्तै शैलीमा अहिले दमन गरिएको छ। आफ्नो आस्थाको लडाईँ कति गहिरो र पेचिलो हुँदोरहेछ त्यो जान्नका लागि जेरुसेलम र कश्मीर हेरे पुग्छ। 

    अहिले भारतको कश्मीर कदमलाई पनि अर्को जेरुसेलम घटना भन्न थालिएको छ जसरी अमेरीकाले बिवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दियो । त्यसैगरी भारतले पनि कश्मीरीको अधिकार छिनेर आफ्नो नियन्त्रणमा लिएको छ। भारतसँग बदला लिने चक्करमा पाकिस्तान आज चरम आर्थिक संकटसँग गुज्रीरहेको छ भने कश्मीरको हालत पनि निकै नाजुक छ । पढाइमा लगाउनुपर्ने युवाहरुलाई आन्दोलनमा खटाइनुले र बन्दुक बोकाइनुले दुई तिन पुस्ता नै अशिक्षाको भुमरीमा घुमीरहेका छन्।

    कश्मीरीले अपुर्ण भनेको, पाकिस्तानले अस्विकार गरेको, भारतीय बिपक्षीले त्यसैमा कायम रहनुपर्छ भनेको तथा बर्तमानको सत्ता संचालक बिजेपीले आफ्नै पुरानो घोषणा अनुरुप हटाउने संकल्प गरेको संविधानको कश्मीर बिशेषाधिकार धारा ३७० जब ५ अगष्ट २०१९ मा गृहमन्त्री अमित शाहले हटाउने भनि भारतका दुबै सदनमा प्रस्तुत गरेका थिए । कश्मीरलाई दिइदै आएको विशेष राज्यको प्रावधानलाई बहुमतले हटाएको घोषणा भयो । 


    किन गरिएन परामर्श ? 

    सरसर्ती हेर्दा यसले फेरी यस क्षेत्रमा युद्ध तथा अशान्ति मच्चिने पक्का छ । भारतले यसलाई कश्मीरमा  शान्ति र विकासको लागि चालिएको कदम त भन्यो तर त्यहींका नेता तथा जनतासँग पनि परामर्श समेत गरिएन । एकाएक ठुलो संख्यामा सेना परिचालन गरी हिटलर शैलिमा कश्मीरीको अधिकार खोसिदिएपछी यसले दक्षिण एशियाली भेगमा छुट्टै तरंग उत्पन्न गरेको छ। लगभग त्यहाँका सबै नेतालाई गिरफ्तार तथा नजरबन्द गरिएको छ भने ब्यापक सुरक्षाकर्मी सडकमा खटाई अनिश्चितकालिन कर्फ्यु तथा निशेधित क्षेत्र (धारा १४४) घोषणा गरिएको छ। धारा ३७० नै अपुर्ण भनेका कश्मीरीले पाएको अधिकार पनि गुमाएपछी त्यत्तिकै शान्त बस्ने देखिंदैन ।

    यद्यपी, भारत सरकारले धारा ३७० कश्मीरीको नभई चरम लुटपाट र भ्रष्ट्राचार गर्ने पृथकतावादी नेताहरुको कमाउने भाँडो भएकोले सुशासनको लागि चालिएको कदम भनेको छ। अल्पसंख्यकमाथि शोषण गरेको अन्तराष्ट्रिय आरोप खेपेको बर्तमान सरकारले पुनः त्यहाँ हिन्दुहरुको चहलपहल बढाउने र कश्मीरीलाई अन्यत्र पनि बसाइ सराउने रणनिती देखिन्छ। यतिबेला जम्मु कश्मीरलाई बिशेष राज्यको दर्जा छिनेर केन्द्रशासित दुई प्रदेशमा बाँडिएको छ।

     

    पाकिस्तानमा तीब्र आक्रोश

    अर्कोतर्फ बाइल्याटरल बिषय मानिएको कश्मीर एक्सनपछी पाकिस्तानले यसलाई अस्विकार गरी भारतसँगको सबै आर्थिक तथा कुटनैतिक सम्बन्ध बन्द गरिदिएको छ। पाकिस्तानी पिएमले संसदको बिशेष शत्र नै बोलाएर आफुहरु चुप नबस्ने बरु परी आए रगतको अन्तिम थोपा रहँदासम्म लडिरहने भनिसकेका छन् । प्रधानमन्त्री इमरान खानले कश्मीर अब भारत पाकिस्तानको मात्र समस्या नभई यो त एक अर्ब मुस्लिमहरुको आस्थाको बिषय भएकाले यसको शान्तिपुर्ण समाधान नखोजिए भविष्यमा अरु भयाबह स्थिती सृजना हुनेछ र आणविक युद्धसम्म पनि पुग्न सक्ने चेतावनी दिएका छन्। 

    उनको यो भनार्इबाट आणबिक शक्ति राष्ट्र यी २ देशबीच अरु तनाव चर्किने निश्चित छ। बिगतमा पनि सम्बन्धमा दरार रहेका कारण ४ बर्षदेखी सार्क सम्मेलन हुन सकेको छैन । सार्कलाई जगाउनेमा भारतको कुनै चाहना देखिंदैन बरु सार्कका राष्ट्रहरुमाथि अधिपत्य जमाउने दाउमा भारत देखिन्छ । एकातिर भारत पाकिस्तानलाई नंग्याउन चाहन्छ भने पाकिस्तान पनि चुप लागेर बसेको देखिदैन । 

    पाकिस्तान पिओके आफुले छाडी आइओके लाई समेत गाभेर स्वतन्त्र कश्मीरबारे बहष गर्न चाहन्छ । उता भारत त्यसलाई ठाडै अस्विकार गरी पिओके पनि भारतमा हुनुपर्छ भन्ने मान्यता राख्छ । जसलाई उ राजा हरि सिंहसँगको सहमतिको हिस्सा भन्ठान्छ। 

    भारतको बढ्दो सामरिक शक्तिका कारण अन्तराष्ट्रिय क्षेत्रपनि यसवारे मौन जस्तै देखिन्छन् र यि दुइको आन्तरिक मामिला नै भन्न रुचाउँछन् । अहिलेको अवस्थामा युद्द भएको अवस्थामा प्रम इमरान खानले भनेझैँ  त्यो युद्ध कसैको नियन्त्रण हुने छैन भने त्यो समग्र क्षेत्रकै लागी बिनाशकारी सावित हुने निश्चितप्रायः । 

    तसर्थ सो सबैका बावजुद पनि नेपाल अहिले कसैको पक्षमा बोल्नु उपयुक्त हुँदैन । नेपालका लागि भारत छिमेकी देश हो भने पाकिस्तान मित्र देश। त्यसैले यस्तो अवस्थामा नेपाल तटस्थ बसी बरु सार्कलाई पुनर्जिवित गर्न पहल गर्नु नै बुद्धिमानी हुनेछ।

     

    (लेखमा उल्लेख गरिएका कुराहरु लेखकका नीजि बिचार हुन् ।)

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast