शनिबार, भाद्र ७, २०७६
    यातायात

    चिनियाँ स्टेशनमा नेपाली रेल !

    आईतवार, २६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २६ साउन

    मन्त्रालयको वेबसाइटमा राखिएको एउटा तस्बिरका कारण सामाजिक सञ्जाल ट्वीटरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धेरैले उडाए ।  

    मेची-महाकाली मेल र कर्णाली लेखिएका र नेपालको झण्डा अङ्कित रेल देखिने तस्बिरमा केपी शर्मा ओली नेतृत्वको सरकारको रेल मोहको झल्को देख्न सकिन्छ । रेलमार्गबाट नेपाललाई चीन जोड्ने योजनाबारे विमर्श भइरहेका बेला सक्कलीजस्तै देखिनेगरी सरकारी वेबसाइटमा सो तस्बिरले स्थान पाएको छ। रेलको नाम र पछाडि भएको भवनको नाम पनि नेपालीमै छ ।

    तर रेल स्टेशनमा देखिने विदेशी लिपिका राता अक्षरले भने असावधानीपूर्वक गरिएको तस्बिर सम्पादन र त्यसलाई स्थान दिने मन्त्रालयको अपरिपक्व निर्णय छलाछुल्ल भएको देखिन्छ । यही विषयबारे समाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गरिएको छ । धेरैले चिनियाँ भाषामा स्टेशनको नाम रहेको अनुमान गरेका छन् ।

    कहिले अप्लोड गरिएको भन्ने अनुमान गर्न गाह्रो भए पनि शनिवार बिहान अन्तर्राष्ट्रिय लगानी मामिलाका विज्ञ सेमन्त दाहालले ट्विटरमा उक्त तस्बिरबारे लेखेका थिए । तत्काल प्रतिक्रिया जनाउँदै अर्थशास्त्री चन्दन सापकोटाले उक्त कार्यलाई मन्त्रालयको अक्षमताको सङ्ज्ञा दिए ।

    एक ट्वीटर प्रयोगकर्ताले भने सरकारी कार्यालयमा कार्यकर्ता भर्ती गरिएको अवस्थामा धेरै आशा गर्न नसकिने टिप्पणी गरे । उक्त तस्बिरबारे मन्त्रालयसँग प्रतिक्रिया लिने  प्रयास सफल हुन सकेन ।

    रेलमार्ग विस्तारमा निकै राम्रो प्रगति प्राप्त गर्न सफल छिमेकी भारत र चीनबीच अवस्थित नेपालमा पनि पछिल्ला दिनहरूमा रेलबारे विमर्श तीव्र बन्दै गएको छ ।

    राजनीतिक दलका घोषणापत्रदेखि लिएर चोक तथा गल्लीका चियापसलसम्म रेलबारे टीकाटिप्पणी हुने गरेको छ । खासगरी नेपाललाई चीन र भारतसँग जोड्ने रेलमार्गबारे गृहकार्य सुरु भएदेखि सर्वसाधारणमा त्यसबारे चासो ह्वात्तै बढेको पाइन्छ । 

    दुई देशसँग जोड्ने रेलमार्गको विषय मने हालसम्म अध्ययनकै क्रममा छ । त्यस्तै पूर्व-पश्चिम रेलमार्ग विकासको काम चलिरहेकै भए पनि अपेक्षाकृत नतिजा भने प्राप्त हुन नसकेको सरकारी अधिकारीहरू नै स्वीकार्छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast