सोमबार, भाद्र २, २०७६
    कृषि-उर्जा

    विद्युतसेवा अवरुद्ध हुँदा पाँगाका ३ सय घरधुरी अँध्यारोमा

    शनिबार, २५ श्रावन २०७६, आहाखबर
    रुकुमपूर्व, २५ साउन 

    गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । 

    गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ । 

    गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । 
     
    ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत् सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत् सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत् सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उहाँको भनाइ छ । 

    अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत् सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast