मंगलवार, भाद्र ३, २०७६
    खेल संसार

    एउटै खेलमा २३ गोल, ४ ह्याट्रिक

    शनिबार, २५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २५ साउन । 
    म्युनिख  जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित बन्न पुग्यो । उक्त खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३–० गोलको विशाल अन्तरले हराएका कारण उक्त खेलको चर्चा चुलिएको हो । बायर्न म्युनिख जर्मनीको घरेलु लिग च्याम्पियन क्लब हो ।

    यसै महिना सुरु हुने बुन्डेस लिगाको तयारीका क्रममा उक्त मैत्रीपूर्ण खेल खेलिएको थियो । जर्मनीको घरेलु लिग अगस्ट १७ देखि सुरु हुँदैछ । साविक विजेता बायर्न म्युनिखले सोही दिन आफ्नो पहिलो खेल हेर्था बर्लिनसँग खेल्दैछ । मैत्रीपूर्ण खेलको प्रारम्भदेखि नै बायर्नले रोटाच एगर्नलाई दबाबमा राखेको थियो ।

    खेल सुरु भएको छैटौं मिनेटदेखि नै बायर्नले विपक्षीविरुद्घ गोल वर्षा सुरु गरेको थियो । बायर्नका चार खेलाडीले ह्याट्रिक गर्ने मौका पाए । कोरेन्टिन टोलिसो एक्लैले चार गोल गरे । उनले ३८औं, ४०औं, ४१औं र ४२औं मिनेटमा गोल गरे । रोबर्ट लेवान्डोवस्की, थोमस मुल्लर र क्वासी ओकिरेले पनि तीन÷तीन गोल थपे ।

    लेवान्डोवस्कीले नवौं, १६औं र २९औं मिनेटमा गोल गरेका थिए । मुल्लरले भने ४९औं, ६१औं र ८८औं मिनेटमा गोल गरे । ओकिरेले ५५औं, ७६औं र ८२औं मिनेटमा गोल गरेका थिए । यी तीन खेलाडीका अतिरिक्त अन्य खेलाडीले पनि गोल थप्ने पालो पाए । रेनाटो सान्चेज र क्वासी ओकिरेले दुई/दुई गोल थपेको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast