शनिबार, मंसिर २८, २०७६
    बिदेश

    भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो रह्यो संयोग

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २४ साउन 

    काठमाडौं । भारतका विदेशमन्त्री एस.जयशंकर भदौ पहिलो साता नेपाल भ्रमणमा आउन लागेको बुझिएको छ । भारतमा नयाँ सरकार गठन भएपछि पहिलो औपचारिक भ्रमणमा नेपाल आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर दुइ देशको संयुक्त बैठकमा सहभागी हुने थाहा भएको छ । 

    भदौ ३ गते काठमाडौं आउने जयशंकरले काठमाडौंमा आयोजना हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनेछन् । यो आयोगलाई दुई देशबीचको शक्तिशाली संयन्त्र मानिन्छ– जसले नेपाल र भारतका सबैखाले मुद्दाबारे छलफल गर्नुका साथै थाँती रहेका काम गर्नका लागि मातहतका निकायलाई निर्देशन पनि दिन्छ । सन् १९८७ मा गठित यो आयोगको तेस्रो बैठक गठनको २३ वर्षपछि काठमाडांैमा नै बसेको थियो । २०१६ मा नयाँ दिल्लीमा आयोगको चौथो बैठक बसेको थियो ।

    २०१६ को अक्टोबर २७ मा नयाँ दिल्लीमा सम्पन्न आयोगको दुईदिने बैठकले द्विपक्षीय सम्बन्धको विस्तृत रूपमा पुनरवलोकन गरेको थियो । परराष्ट्र मन्त्रालयले त्यतिबेलाको बैठक सकिएपछि जारी गरेको वक्तव्यमा जनाइएअनुसार सो बैठकमा राजनीतिक, सुरक्षा, सीमा, आर्थिक सहयोग र पूर्वाधारबारे मुख्य रूपमा छलफल भएको थियो । त्यसैगरी, व्यापार र पारवहन, ऊर्जा, जलस्रोत, संस्कृति र शिक्षाका विषयमा पनि छलफल गरिएको थियो । 

    अहिले पनि त्यसको सेरोफेरोमा नै रहेर दुई पक्षबीच कुराकानी हुने सम्भावना रहेको जनाइएको छ र बैठकले आफ्नो चौथो बैठकमा गरेका निर्णयको कार्यान्वयन पक्षको समेत समीक्षा गर्ने जनाइएको छ । 

    विदेश मन्त्रीका हैसियतले पहिलोपटक नेपाल भ्रमणमा आउँदै गरेका जयशंकरले यहाँ नयाँ संविधान जारी हुनैलाग्दा भारतीय प्रधानमन्त्रीका विशेषदूतका रूपमा काठमाडौं आएका थिए,तर त्यतिबेला उनको आकस्मिक दौडाहा संविधान जारी हुनबाट स्थगित गराउन असफल भएपछि रित्तोहात फर्किएका थिए ।  

    यहाँका नेताले उनको सुझाव स्वीकार नगरेकै कारण भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । जयशंकरको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि विदेश सचिवका हैसियतले उनले नेपालको दुईपटक भ्रमण गरिसकेका छन् । दोस्रोपटक विदेश सचिवकै हैसियतमा नाकाबन्दी अन्त्यसँगै भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठकमा भाग लिन नेपाल आएका थिए ।

    भदौ ४ बाट सुरु हुने आयोगको दुईदिने बैठकसँग जयशंकरको अर्को प्रसंग पनि जोडिन पुगेको छ । नयाँ दिल्लीमा २०१६ को अक्टोबर २६ र २७ का दिन बसेको आयोगको बैठकको एजेन्डा तयार गर्नका लागि तत्कालीन विदेश सचिवको हैसियतमा जयशंकर र नेपाली समकक्षी शंकरदास बैरागी खटिएका थिए । मन्त्रीको हैसियतमा भने नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतका विदेश राज्यमन्त्री एमजे अकबर सामेल थिए । तर, अहिले नेपालमा आयोजना हुन लागेको आयोगको पाँचौं बैठकमा भने नेपालका तर्फबाट परराष्ट्र सचिवका रूपमा बैरागीले नै सहभागिता जनाउँदै छन् भने जयशंकरको सहभागिता मन्त्रीका हैसियतमा हुनेछ । 

    बैरागीले भने यसपटकको बैठकको मुद्दाका लागि आफ्ना भारतीय समकक्षी विजय गोखलेसँग संवाद गर्नुपर्ने छ । दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा यसपालि पनि जोड दिइने छ । आयोगलाई दुई मुलुकबीचका समग्र सम्बन्धलाई पुनरवलोकन गर्ने अधिकार छ । तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने काम तय गर्नुका साथै सडक, रेल, सीमापार सम्बन्ध, जलस्रोत, बाढी, सुरक्षा मामिला, सीमा, पञ्चेश्वर परियोजना, सीमा क्षेत्रमा चेक पोस्ट निर्माण, ऊर्जा, व्यापारलगायतका थुप्रै विषय यसपालि उठ्न सक्ने अनुमान गरिएको छ । 

    अहिले हुन लागेको बैठक गत फेब्रुअरी महिनामा नै हुनुपर्ने भए पनि भारतीय निर्वाचनको कारण स्थगन भएको थियो ।  जयशंकरले भ्रमणका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक नेतालाई पनि भेट्ने कार्यक्रम तय गरिएको स्रोतले बताएको छ । नेपालले अहिलेको बैठकमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्रीले समय नदिएको प्रसंगमा पनि कुरा राख्ने सम्भावना रहेको जानकार स्रोतको दाबी छ । त्यसैगरी दुई देशबीच आगामी दिनमा हुन सक्ने उच्चस्तरीय भ्रमणबारे पनि छलफल हुने जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast