आईतवार, भाद्र ८, २०७६
    सावधान

    कैलालीमा नक्कली नोट छाप्ने गिरोह सक्रिय, नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    धनगढी, २४ साउन ।

    शुक्रवार प्रहरीले कैलालीबाट नक्कली नाेट बनाउने मेसिनसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ। प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मसिनसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

    धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लप राज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।

    उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदीप गिरीले बताए। उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।

    पछिल्लो समय नेपाल–भारत सीमा जोडिएको कैलाली जिल्लामा नक्कली नोटको कारोबारमा ठूलो गिरोह सक्रिय रहेको पाइएको हाे । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा  गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।

    हालसम्म पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक हुनु र ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोट बरामद गरिनुले ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । नक्कली नोट कारोबारमा नेपाल–भारत ‘कनेक्सन’ समेत भएको पुष्टि हुँदै आएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले दाबी गरे । नियन्त्रणको लागि भारतीय प्रहरीसँग सहकार्य गरेर अनुसन्धान समेत गरिरहेको उनको बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast