शनिबार, भाद्र ७, २०७६
    यातायात

    पठाओले ट्याक्सी सेवा पनि थाल्यो, चाहेकै ठाउँमा बोलाएर सेवा लिन सकिने

    शुक्रबार, २४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २४ साउन ।
    मोटरसाइकलबाट यात्रु सेवा दिइरहेको राइड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौं उपत्यकामा ट्याक्सी सेवा सुरु गरेको छ। यात्रुलाई सेवा दिन दुई सयभन्दा बढी ट्याक्सीसँग सम्झौता गरिएको पठाओका बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन्।

    पठाओका प्रयोगकर्ताले एपको सहयोगले मोटरसाइकलजस्तै ट्याक्सीलाई पनि आफूले चाहेको ठाउँमा बोलाएर सेवा लिन सक्नेछन्। यसका लागि पठाओले आफ्नो मोबाइल एपलाई अपडेट गरिसकेको हमालले बताइन्। ‘ग्राहकको मागअनुसार ट्याक्सी सेवा सुरु गरिएको हो। मोटरसाइकलजस्तै ट्याक्सी सेवा पनि ग्राहकले रुचाउनुहुनेछ’, हमालले भनिन्, ‘ग्राहकको आवश्यकताअनुसार अन्य सेवा सुविधा थप गर्दै जानेछौं।’ ट्याक्सी सेवा सुरु गरेको पठाओले यसको सफलताको आधारमा निजी कार सेवा सुरु गर्ने तयारी गरेको छ। यसका लागि ग्राहकले केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ।

    ट्याक्सी सेवा प्रयोग गर्दा ग्राहकले बुकिङ चार्जको रूपमा एक सय रुपैयाँ मिटर मूल्यभन्दा थप तिर्नुपर्छ। ट्याक्सी सेवाको भाडा सरकारले तोकेबमोजिम हुनेछ। यी ट्याक्सीले मिटरमा यात्रु बक्नेछन्। बिलबाहेक यात्रुले प्रतिकिलोमिटर थप एक रुपैयाँ चालकलाई प्रोत्साहन रकमको रूपमा तिर्नुपर्ने हुन्छ।

    पठाओले यात्रु र सामानको सुरक्षालाई प्राथमिकतामा राखेको छ। पठाओसँग आबद्ध हुने चालकलाई यस विषयमा तालिम दिएर अनुबन्धन गर्ने गरिएको हमाल बताउँछिन्। ट्याक्सी चालकको सबै विवरण कम्पनीसँग हुनेछ। केही समयअघि चावहिलस्थित गोपिकृष्ण क्षेत्रमा ट्याक्सी चालकले संयमता नअपनाएकाले एक यात्रीको मृत्यु भएको थियो। यस्ता भैपरी आउने घटनालाई ट्याकल गर्ने गरी चालकलाई तालिम दिइएको छ।

    यात्राका क्रममा हुन सक्ने सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न लाइभ लोकेसन ट्र्याकमार्फत निगरानी गरिएको समाचार अन्नपूर्ण पोस्टमा छ । 
    यात्रु तथा कम्पनीसँग ट्याक्सी तथा चालकको विवरण हुने भएकाले हराउने तथा छुट्ने समस्या आउँदैन। पठाओको ट्याक्सी सेवा २४ घण्टा उपलब्ध हुनेछ। पठाओको मोटरसाइकल सेयरिङ सेवा पछिल्लो समय सहरमा लोकप्रिय बन्दै आएको छ। हमालका अनुसार पठाओ एप पाँच लाखभन्दा धेरै पटक डाउनलोड भइसकेको छ।

    यसमा ३० हजारभन्दा धेरै मोटरसाइकल चालक आबद्ध छन्। एपमार्फत राइड सेयरिङ सर्भिस, सामान डेलिभरी, खाना डेलिभरी सेवाका कारण बंगलादेशमा पठाओ निकै चर्चित मानिन्छ। यसले २०७५ कात्तिकबाट नेपालमा सेवा सुरु गरेको थियो। नेपालमा पठाओबाहेक सारथी, इजी ट्याक्सी नेपालले यसअघि नै ट्याक्सीबाट सेवा प्रदान गरिरहेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast