आईतवार, भाद्र ८, २०७६
    सावधान

    साइबर आक्रमणको ‘ट्रान्जिट’ बन्दै नेपाल ! एटीएम बुथ र महिला निसानामा

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २३ साउन 

    ‘फ्रड प्लास्टिक म्याग्नेटिक कार्ड’ प्रयोग गर्दै विभिन्न बैंकको एटीएम बुथबाट २० लाखभन्दा बढी रकम झिकेको आरोपमा सिआइबी को टोलीले ५ असार ०७६ मा ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गर्‍यो ।

    अनुसन्धानका क्रममा राजु पाण्डे र ३ जना रोमानियन नागरिक मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटीएम बुथबाट पैसा झिकेको पाइयो । पाण्डेसँग ३ जना रोमानियन नागरिकले ८ महिनाअघि मात्रै ‘दोस्ती’ गरेका थिए । पाण्डेले विदेशी नागरिकलाई एटीएम बुथसम्म पु¥याउने र निकालिएको रकम बाँडफाँड गरिन्थ्यो । पाण्डे पक्राउ परेपछि रोमानियन नागरिकले भने नेपाल छाडिसकेका थिए । घटनाको अनुसन्धान जारी छ ।

    सिआइबीकै तथ्याङ्कअनुसार हालसम्म यस्तै प्रकारका अवैध १३६९ वटा एटीएम कार्ड बरामद भएका छन् । सिआइबीकै सक्रियतामा ९५ लाख ६२ हजार ८५० नेपाली रुपैयाँ, अमेरिकी डलर ७५ हजार २ सय २५,  युरो ७३ हजार ८ सय ७५, इन्डोनेसियन रुपी ३३,००० र  फिलिपिनी करेन्सी ४७० बरामद भएको छ । 

    साइबर आक्रमण महत्वपूर्ण सूचना, डाटा चोरीका लागि बढी प्रयोग हुन्थ्यो भने पछिल्लो समय आर्थिक अपराधकै लागि आक्रमण बढ्दो छ ।

    हालसम्म व्युरोले एटीएम कार्ड ठगीमा २४ जनालाई पक्राउ गरिसकेको छ । जसमा ६ जना नेपाली, ४ जना रोमानियन, ४ जना टर्कीस, ४ जना बुल्गेरियन, ४ जना मोल्दोभियन र २ जना भारतीय छन् । नक्कली एटीएम कार्डबाट बुथबाटै पैसा झिकेका घटना अन्य जिल्लामा पनि हुँदै आएका छन् । साइबर आक्रमण अन्तरराष्ट्रिय स्तरको हुन्छ । यसका लागि आक्रमणकारीको अन्तरराष्ट्रिय सञ्जाल हुने गरेको पाइन्छ । यसअघि साइबर आक्रमण महत्वपूर्ण सूचना, डाटा चोरीका लागि बढी प्रयोग हुन्थ्यो भने पछिल्लो समय आर्थिक अपराधकै लागि आक्रमण बढ्दो छ ।

    यस्ता घटना बढ्नुको मुख्य कारण कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्नु नै भएको प्रहरी अधिकारीको बुझाइ छ । त्यसो त साइबर अपराध भनेकै सामाजिक सञ्जालबाट हुने अपराध मात्रै भएको नेपाली समाजको बुझाइ छ । सिआइबीकै तथ्याङ्क हर्ने हो भने एटीएम अपराधमा तेस्रो मुलुकका नागरिक बढी संलग्न छन् । विदेशी नागरिकले नेपाली नागरिकको सहयोगमा साइबर आक्रमण गर्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

    एटीएम कार्ड बनाएर पैसा निकाल्ने, सामाजिक सञ्जाल (फेसबुक, इमो, भाइबर) लगायतको प्रयोग गर्दै साइबर आक्रमणका गतिविधि नेपाललाई साइबर अपराध (आक्रमण)को नयाँ ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने खतरा बढेको छ । 

    नेपालमा हुनसक्ने सम्भावित साइबर आक्रमण रोक्न स्पष्ट प्रकारको सरकारी नीति तयार भएको देखिँदैन । यसप्रति सुरक्षा सतकर्ता नअपनाउने हो भने हो ‘हमला’कै रुपमा अगाडि बढ्नसक्ने प्रहरी अधिकारीको बुझाइ छ । पछिल्लो समय विश्वका सयौं कम्पनी साइबर हमलाको शिकार भएका छन् ।

    नेपालीहरु विभिन्न बहानामा ठगिने क्रम बढ्दो छ । पछिल्लो दुई वर्षयता भाइबर, इमो वा टेलिफोन नम्बरमै ‘तपाईंलाई लाखौंको चिठ्ठा’ परेको छ भन्दै ठग्ने क्रम क्रम बढी देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल यस्ता कुरामा सचेत हुन र समयमै प्रहरीमा खबर गर्न आग्रह गर्छन् ।

    प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढ्दो छ । सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याकअप प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ । 

    प्रवक्ता पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउँछन् । उपलब्ध स्रोत र साधनको अधितम प्रयोग गर्दै ब्यूरोले साइबर अपराधका घटनाको अनुसन्धान गर्दै आएको उनको भनाइ छ ।

    ‘‘धेरैमा साइबर अपराधबारे ज्ञानकै कमी देखिन्छ । जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा असभ्य, अश्लील कुराहरु पोष्ट गर्ने कुराहरु नै बढी देखिन्छन् । कतिपयले त सामाजिक सञ्जालकै कारण आत्महत्या पनि गरेका छन् । यसले सुरक्षा चुनौती पक्कै बढाएको छ ।’’ 

    भोटाहिटीमा कार्यालय रहेको साइबर व्युरोका डिआइजी विकास श्रेष्ठ साइबर अपराध, त्यससम्बन्धी कानुन लगायतका विषयमा देशभर विभिन्न कार्यक्रम र माध्यमबाट जनचेतना फैलाउने काम ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत भइरहेको बताउँछन् । 

    डिआइजी श्रेष्ठ भन्छन्, ‘‘धेरैमा साइबर अपराधबारे ज्ञानकै कमी देखिन्छ । जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा असभ्य, अश्लील कुराहरु पोष्ट गर्ने कुराहरु नै बढी देखिन्छन् । कतिपयले त सामाजिक सञ्जालकै कारण आत्महत्या पनि गरेका छन् । यसले सुरक्षा चुनौती पक्कै बढाएको छ ।’’ चरित्रहत्या गर्ने ठूलो माध्यम सामाजिक सजाल भएको डिआइजी श्रेष्ठको बुझाइ छ ।

    एकापट्टि सामाजिक सञ्जालको जानी–नजानी दुरुपयोग भएको देखिन्छ भने अर्कोतिर सामाजिक सञ्जालबाट ठग्ने गिरोह नै सक्रिय देखिने प्रहरी अधिकारी बताउँछन् । प्रहरी कार्यालयमा आइरहने निवदेनमा चिट्ठा पर्‍यो भन्दै ठगिएकाहरु भेटिन्छन् । धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेशमा हुने र घरमा रहेका महिलाहरुको चेतनाको स्तर कम भएको फाइदा त्यस्तो गिरोहले उठाइरहेको छ ।

    नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा साइबर अपराधका घटनामा वृद्धि हुँदै आएको देखिन्छ । आर्थिक वर्ष ०७०–०७१ मा ३९ वटा मुद्दा दर्ता हुँदा ०७१–०७२ मा ३५, ०७२–०७३ मा ४३ र ०७३–७४ मा ३२ ओटा मुद्दा दर्ता भए । यस्तै ०७४–०७५ मा एक सय र ०७५–०७६ मा १६७ ओटा मुद्दा दर्ता भए । 

    प्रहरीका अनुसार नेपालका ६३ प्रतिशत जनता कुनै न कुनै रुपमा सामाजिक सञ्जाल वा इन्टरनेटसँग जोडिएका छन् । जसमध्ये अधिकाशंले मोबाइल प्रयोग गर्छन् । त्यसको सहि सदुपयोग गर्न नजान्दा पनि अपराध बढेको देखिएको प्रहरीको भनाइ छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast