शुक्रबार, मंसिर २७, २०७६
    आर्थिक खबर

    सुनको मुल्यले आकाश छोयो, एक सातामै ४ हजार ५ सय बढ्यो

    बिहिवार, २३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २३ साउन । 
    स्थानीय बजारमा सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ नजिक पुगेको छ । बुधबार प्रतितोलामा १ हजार ५ सय रुपैयाँले मूल्य बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । गत बिहीबार बजारमा एक तोलाको ६५ हजारमा कारोबार भएकोमा एक सातामै ४ हजार ५ सय बढेर बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पनि परेको हो ।बुधबार तोलामा १ हजार ५ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लो एक सातामा सुनको मुल्य निरन्तररूपमा उकालो लाग्दै आएको 
    समाचार कारोबारमा छ । 

    महासंघका अनुसार पछिल्लो ६ दिनमा सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले बढेको छ । अमेरिका र चीनबीच भएको विवादका कारण अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको भाउ बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । पछिल्लो ६ दिन यता मूल्य लगातार बढेकाले सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । 
    अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस २७ डलर बढेर १ हजार ४ सय ८६ डलर पुगेको छ । बुधबार एक अमेरिकी डलर बराबर १ सय १३ रुपैयाँ ७५ पैसा पुगेको छ ।
    गत साउन ३ गते ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १० दिन स्थिर देखिएको थियो । गत सातादेखि निरन्तररूपमा सुनको मूल्य उकालो लाग्दै आएको छ । अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाएपछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भइरहन सक्ने व्यवसायीको भनाइ छ ।

    मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरू बताउँछन् ।व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । 

    यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर मूल्य ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast