बुधबार, भाद्र ४, २०७६
    सार्क

    भारतीय उच्च अधिकारी फिर्ता पठाउने र व्यापार स्थगन गर्ने पाकिस्तानको घोषणा

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    इस्लामाबाद, २२ साउन

    पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ ।  

    जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो । 

    “हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,” पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भन्नुभयो । 

    उहाँले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको पनि बताउनु भयो । 

    भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उहाँको भनाइ छ ।  

    जम्मू कश्मीरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ ।

    भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ । 

    हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन् । 

    भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ । 

    गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast