शनिबार, भाद्र ७, २०७६
    यातायात

    ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरीद्वारा सुघेरै मपसे चेक

    बुधबार, २२ श्रावन २०७६, –विमलबहादुर विष्ट.
    डोटी, २२ साउन
     
    जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ । 
     
    डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या भएको बताइएको छ । 
     
    ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुघेर मादकपदार्थ सेवन गरे नगरेका बारेमा पत्ता लगाउन बाध्य भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरीका अनुसार चालकको मुख सुघ्ने विषयमा कहिले काही त ठूलै विवाद उत्पन्न हुने गर्दछ ।
     
    जिल्ला ट्राफिक प्रहरी दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धाँमीले जिल्लाभरिमा एकमात्र ब्रेथलाइजर मेसिन भएको र त्यो पनि बिग्रेर थन्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाभरिमा एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेकाले मर्मतका लागि पठाएका छौँ, बनेर आएको छैन ।” 
     
    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको बताउनुभयो । “अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ”, उहाँले भन्नुभयो, “हामी खाएको मान्छे मदिरा नपिएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ, पत्ता लगाउन सजिलो हुन्छ ।” 
     
    उता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका ट्राफिक प्रहरी निरीक्षक लालबहादुर साउदले बिग्रेका ब्रेथलाइजर मेसिन मर्मतका लागि हेडक्वार पठाएको र हालसम्म फिर्ता नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमा बिग्रेका ब्रेथलाइजर मेसिन जम्मा गरेर हेडक्वार पाएको लामो समय भइसक्यो, फिर्ता आएका छैनन्, नआए हामीले कहाँ बाट पठाउनु ।” 
     
    क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अत्तरियाबाहेक अन्य कुनै पनि जिल्लामा ब्रेथलाइजर मेसिन छैनन् । आफ्नो कार्यालयबाट ब्रेथलाइजर मेसिन नआएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर मेसिन किनिदिन स्थानीय तहसंग माग गरेका छन् । 
     
    जिल्लामा ब्रेथलाइजर मेसिन किन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले सबै स्थानीय तहमा आग्रह गरे पनि उक्त मेसिन किन्नका लागि रकम कहीँकतैबाट नआएको ट्राफिक प्रहरीको गुनासो छ । “करीब रु २० हजारमा किन्न सकिने उक्त मेसिन नहुँदा यहाँका ट्राफिक प्रहरीलाई निकै समस्या हुँदै आएको विषयमा सबै निकायमा खबर गरे तर कसैले किन्ने प्रयास गरेरनन्”, जिल्ला ट्राफिक प्रहरी प्रमुख मोहनसिंह धाँमीले भन्नुभयो, “सबैका लागि काम लाग्ने मेसिन किन्नलाई के दुःख, मेसिन नहुँदा हामी नै बिरामी पर्ने बेला भइसक्यो ।”
     
    त्यस्तै कतिपय स्थानमा ट्राफिक बत्तीको व्यवस्था नहुँदा र स्टप लाइट नराख्दा समस्या भएको उहाँको भनाइ छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast