आईतवार, मंसिर २२, २०७६
    अावास-निर्माण

    धोबीखोला करिडोरकाे २० वर्ष : २ अर्ब सकियो तर निर्माण सकिएन

    बुधबार, २२ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २२ साउन ।

    दुई दशक बितिसक्दा पनि धोबीखोला करिडोरको निर्माण सम्पन्न हुन सकेकाे छैन । करिडोर योजना बनेको २० वर्ष पुरा भइसक्दा पनि चाबहिलभन्दा माथिको करिडोर क्षेत्रका स्थानीय धुलो र हिलोको चपेटामा छन् । 

    सवारी गुडाउन नमिल्ने अवस्थाको यो निर्माणधीन सडकमा बनेका खाल्टाले दुर्घटनाको जोखिम पनि उच्च छ । चालु आर्थिक वर्षमा पनि करिडोर निर्माण नसकिने उपत्यका विकास प्राधिकरण बताउँछ । यो करिडोरको करिब ९ किलोमिटर सडक अझै कालोपत्रे गर्न बाँकी छ । यो काम सक्न २०७७ को मंसिरसम्म लाग्ने अनुमान गरिएको छ ।

    प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले धोबीखोला करिडोरको करिब २४ किलोमिटरमध्ये १५ किलोमिटरमा पिच गर्ने काम सकिएको जानकारी दिए । बाँकी खण्डका लागि पनि ठेक्का लागिसकेको छ । ‘यो पटक संयोगले समितिले ढल हाल्न लगाएको ठेक्का र हामीले पिच गर्न लगाएको ठेक्काको ठेकेदार एउटै परेको छ,’ उनले भने, ‘उसले चरणवद्ध रुपमा निर्धारित समयसम्ममा काम सकाउँछ ।’

    धोबीखोला करिडोरको निर्माण ०६४ सालदेखि थालिएको हो । यदि पछिल्लो लक्ष्य हासिल भयो भने पनि काम सुरु भएको १३ वर्षपछि मात्रै यसले पूर्णता पाउनेछ । तर, काम गराई हेर्दा भने अझै दुई वर्षमा पनि निर्माण सकिन्छ भन्ने विश्वास स्थानीयलाई छैन । प्राधिकरणका प्रमुख आयुक्त तिवारी पनि अहिलेकै गतिमा काम गर्दा २ वर्षभित्र काम सक्न मुश्किल पर्ने स्वीकार्छन्।

    राम मन्दिरदेखि बागमती दोभानसम्म झण्डै १२ किलोमिटर खण्डमा दुईतर्फी २४ किलोमिटरको सडक बनाइँदै छ । तर, कामको गति भने कछुवाको जस्तो छ । यो करिडोरमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याउने काम गरिरहेको छ ।

    प्राधिकरणले यसअघि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले करिडोरमा समयमै ढलका पाइप नहाल्दा काम हुन नसकेको बताउँदै आएको थियो ।

    मुख्य सडकमा सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोबीखोला करिडोर बनाउन ०५६ सालमै काठमाडौं महानगरपालिका अघि सारेको थियो । महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्राजेक्टबाट यो आयोजना सुरु भएको थियो ।

    तर, त्यसमार्फत राम्रो काम नभएपछि ०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लियो । त्यसपछि उपत्यका विकास प्राधिकरणलाई दिइयो । निर्माण प्रक्रिया थालेको १८ वर्ष नाघ्दा समेत पहिलो खण्डको काम पनि सकिएको छैन । अहिलेसम्म ९ किलोमिटरभन्दा बढी ट्रयाक हिलाम्य नै छ ।

    उपत्यका विकास प्राधिकरणले पर्याप्त बजेट नआएको कारण पनि सडक निर्माणमा समस्या भएको बताउने गरेको छ । तर, सरकारले भने यो आयोजनामा प्रशस्तै बजेट खन्याएको देखिन्छ। निर्माण सुरु भएको १२ वर्षमा धोबीखोला करिडोरमा सरकारले बजेटको ‘खोलो’ नै बगायो । प्राधिकरण एक्लैले यो वर्षसम्म २ अर्बभन्दा बढी बजेट खर्च गरिसक्यो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast