मंगलवार, भाद्र ३, २०७६
    आर्थिक खबर

    आजैबाट लागु हुँदैछन् माैद्रिक नीतिका यी व्यवस्था, के-के छ व्यवस्थामा ?

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २१ साउन ।

    मंगलबारबाट चालु आर्थिक वर्ष २०७६/०७७ काे मौद्रिक नीतिले गरेका केही व्यवस्थाहरु लागु भएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि त्यसले गरेकाे व्यवस्थाहरु लागु गर्नकाे लागि राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेकाे छ ।

    राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेसँगै मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयनमा गएका छन् । एकीकृत निर्देशिका संशाेधन भएर आएलगत्तै माैद्रिक नीतिमा भएकाे व्यवस्थाहरु आजबाट कार्यान्वयनमा गएका हुन् ।

    आजबाट लागु व्यवस्थाहरुः

    ५० लाख बढीको कर्जा प्रवाहमा स्थायी लेखा नम्बर अनिवार्य

    नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै ५० लाख भन्दा बढीको कर्जा लिने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने व्यवस्था गरेकाे छ । यसअघि १ करोड भन्दा बढीको कर्जा प्रवाह गर्दा मात्रै स्थायी लेखा नम्बर चाहिने गरेकाे थियाे ।

    साना ऋणमा २ प्रतिशतभन्दा बढी व्याज लिन नपाइने व्यवस्था

    बैङ्क तथा वित्तीय संस्थाले १५ लाख सम्मको कृषि उद्यम तथा व्यवसाय प्रवर्द्धन कर्जा  प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्म थप गरी ऋणको ब्याज लिन पाइने भएकाे छ । यस्तो कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न पाइने व्यवस्था छ ।

    यस्तो ऋण प्रवाह गर्दा कुनै सेवा शूल्क नलाग्ने र बैङ्क तथा वित्तीय संस्थाले कर्जा माग भएको सात दिनभित्र स्वीकृति दिनुपर्ने प्रावधान छ ।

    ०७७ असारसम्म बफर कायम नगरे लाभांश दिन नपाइने

    आर्थिक बर्ष २०७६/०७७ का लागि काउन्टर साइकल बफरको अनुपात कुल जोखिम भारित एक्सपोजरको २ प्रतिशत तोकिएको छ । यस्तो बफर २०७७ असार मसान्तसम्म कायम गरिसक्नुपर्नेछ । यदि सो समयावधिमा बफर पुँजीकोष कायम नगरे यो वर्षको नाफाबाट मुनाफा दिन रोक लगाइने राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७५ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

    कर्जा सूचना केन्द्रमा जानकारी दिनुपर्ने

    बाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनीले समेत लघुवित्त कारोबार गरेको भए त्यस्तो कारोबारको छुट्टै सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।

    सिइओ र सञ्चालक बन्न उमेर हद

    बैङ्क तथा वित्तिय संस्थाको प्रमूख कार्यकारी अधिकृतमा ६५ वर्ष उमेर नाघेको व्यक्ति अयोग्य हुने भएको छ । यदि अहिले ६५ वर्ष उमेरको सिइओ छन् भने उनीहरु ६९ वर्षसम्म बहाल रहन सक्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

    यता सञ्चालकमा ७० वर्षकाे उमेरहद राखिएकाे छ । यदि यहि उमेरको व्यक्ति अहिले सञ्चालकमा छन् भने उनीहरु आगामी ४ वर्ष अर्थात् ७४ वर्षसम्म रहन सक्ने व्यवस्था गरिएकाे छ ।

    मर्जरमा गए शाखा खोल्न राष्ट्र बैङ्कको अनुमति लिनु नपर्ने

    वाणिज्य बैङ्कहरु एक आपसमा गाभिएर आगामी असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरे भने शाखा खोल्न राष्ट्र बैङ्कको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएकाे छ ।

    बैङ्कको वेबसाइटमा प्रकाशित हुने सामाग्री नेपालीमा

    बैङ्क तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित भएका सामाग्री २०७६ पुससम्म नेपालीमा पनि प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएकाे छ । यस्तै आफ्ना ग्राहकलाई आफूले प्रदान गर्ने सेवा अडियो नोटिस बोर्डमा पनि उपलब्ध गराउनु पर्ने भएकाे छ ।

    ३ प्रतिशत ब्याजमा पुनर्कर्जा

    बैङ्क तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिनुपर्नेछ । यस्तो कर्जा अविकसित र अति कम विकसित क्षेत्रका उत्पादनमुलक उद्योगलाई दिनुपर्ने व्यवस्थामा उल्लेख छ ।

    बीमा अभिकर्ताको काम बैङ्कले गर्न नपाउने

    अबदेखि बैङ्क तथा वित्तिय संस्थाले बीमा अभिकर्ताको काम गर्न नपाउने भएका छन् । तर कर्जा प्रवाहका क्रममा ऋणीले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउन, कर्जाको बिमा गराउन वा बिनाधितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएको कर्जाको हकमा कर्जा अवधिसम्मका लागि अणी आवधिक जीवन बिमा गराउन भने पाइने भएकाे छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast