बिहिवार, मंसिर २६, २०७६
    खेल संसार

    'फिफा द बेस्ट अवार्ड'का दावेदार- कसले मार्ला बाजी ?

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    एजेन्सी। 

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्दै आएको 'फिफा द बेस्ट अवार्ड' घाेषणा हुन लगभग १ महिना बाँकी छ । अवार्ड घाेषणा हुन केहि समय बाँकी भए पनि यस वर्षकाे 'फिफा द बेस्ट अवार्ड' कसले जित्ला भन्ने चर्चा हुन शुरू भइसकेकाे छ । 

    यसपटक  'फिफा द बेस्ट अवार्ड' को लागि कडा प्रतिस्पर्धा हुने भएको छ । मनोनयनमा च्याम्पियन्स लिग विजेता लिभरपुलको खेलाडीको दबदबा रहँदा साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले स्थान बनाउन सकेनन् । सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगका ४ खेलाडी रहेका छन् ।

    प्रिमियर लिगका ४ मध्ये ३ खेलाडी लिभरपुलका छन् । गत सिजन टोटेनहमलाई हराउँदै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । भर्जील भान डाइक, साडियो माने र मोहम्मद सलाह लिभरपुलबाट र टोटेनहमका कप्तान ह्यारी केन द बेस्ट अवार्डको मनोनयनमा परेका छन् ।

    सुपरस्टारद्वय युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार किलियन एमबाप्पे पनि द बेस्ट उपाधिको दौडमा छन् । आयक्सबाट उच्च प्रदर्शन गरेका युवा खेलाडी फ्रेन्की डी जोङ र म्याथिज डी लिग्ट पनि मनोयनमा छन् । दुई डच स्टारहरुले आयाक्सलाई च्याम्पियन्स लिग सेमिफाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

    यो सिजन रियल म्याड्रिडमा पुगेका इडेन हाजार्ड पनि १० जनाको मनोनयमा परेका छन् । रियलबाट मनोनयमा पर्ने उनी एक्ला हुन् । रियलले गत सिजन च्याम्पियन्स लिग जित्दा मोड्रिच कप्तान रहेको क्रोएसियाले विश्व कप फाइनल खेलेको थियो । त्यति बेला रोनाल्डो धेरै मतले दोस्रो र लिभरपुलका सलाह तेस्रो भएका थिए ।

    फिफा विश्वका उत्कृष्ट वर्ष खेलाडी र फ्रान्स फुटबलको बालोन डी’ओरलाई एउटै बनाउँदै ६ वर्ष फिफा बालोन डी ओर दिएको थियो । त्यसपछि सहकार्य टुटेपछि फिफाले द बेस्ट अवार्ड दुई वर्षअघिबाट दिन सुरु गरेको हो । सन् २०१७ को पहिलो संस्करणमा साे अवार्ड रोनाल्डोले जितेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast