काठमाडौँ, २१ साउन
म्यानचेस्टर युनाइटेडले इंग्ल्याण्डका सेन्टर ब्याक ह्यारी मग्वाएरलाई लिसेस्टर सिटीबाट ८० मिलियन पाउण्डमा भित्र्याएको छ ।
जसले लिभरपुलका भर्जिल भ्यान डाइकलाई उछिन्दै मग्वाएर विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका छन् ।भ्यान डाइक २०१८ को जनावरीमा साउथह्याम्पटनबाट लिभरपुल जाँदा ७५ मिलियन पाउण्डमा सबैभन्दा महँगा डिफेन्डर बनेका थिए । अहिले २६ वर्षका मग्वाएरले युनाइटेडसँग ६ वर्षका लागि सम्झौता गरेका छन् ।
समग्रमा प्रिमियर लिग क्लबको इतिहासमै मग्वाएर दोस्रा महँगा खेलाडी हुन् । युनाइटेडले नै पोउल पोग्वाका लागि ८९ मिलियन पाउण्ड खर्च गरेको थियो। यसका साथै बेलायती खेलाडीमा पनि मग्वाएर सबैभन्दा महँगा खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । उनीअघि रहेका वेल्सका ग्यारेथ बेललाई रियल मड्रिडले २०१३ मा ८५ मिलियन पाउण्ड खर्चिएको थियो।
‘म्यानचेस्टर युनाइटेडमा आउन पाउनु सबैभन्दा ठूलो अवसर हो । प्रशिक्षकसँग कुरा गर्दा पनि उनले टिमका लागि बनाएको योजना मलाई निकै मन परेको छ । अब नयाँ सिजनको प्रतिक्षामा छु’ मग्वाएरले भनेका छन् ।
मग्वाएरका लागि युनाइटेडले गएको वर्ष नै इच्छा देखाएको थियो। तर त्यो समय उनका लागि ७० मिलियन पाउण्ड खर्च गर्नु ठूला रकम हुने भन्दै युनाइटेड पछि हट्यो ।
लिसेस्टरमा गएको सेप्टेम्बरमा नै पाँच वर्षका लागि सम्झौतामा रहेका मग्वाएरले २०१७ मा हलसिटीबाट आएदेखि ६९ प्रिमियर लिग खेल खेलेका थिए । २०१४ मा हलसिटी आउनु अघि उनी सेफिल्ड युनाइटेडमा थिए, जहाँ १ सय ३९ प्रिमियर लिग खेल खेलेका थिए ।
२०१७ को अगस्टमा इंग्ल्याण्ड राष्ट्रिय टिममा डेब्यू गरेका मग्वाएरको खेल रसिया विश्वकपका बेला पनि निकैले मन पराएका थिए । मग्वाएर सबैभन्दा महँगा डिफेन्डर बनेसँगै भ्यान डाइकले त्यसले चुनौती थपिने प्रतिक्रिया दिएका छन् ।
सबैभन्दा महँगोको ट्याग लागेपछि जिम्मेवारी थप हुने हुँदा त्यसले आफूमा दबाव बढ्ने भ्यान डाइकको सल्लाह छ । ‘मग्वाएरलाई शुभकामना, म यो ट्रान्सफर र महँगा डिफेन्डरबारे थप केही भन्न सक्दिनँ, समय फेरिँदै जाँदा अवस्थाहरु पनि फेरिँदै जान्छन् । बजारको मूल्य बढ्दै जान्छ। यसले चुनौती र दबाव पनि बढ्छ नै, हुन त ठूला क्लबमा रहँदा दबाव त जहिले पनि हुन्छ’ भ्यान डाइकले भनेका छन् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com