बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकलाई उमेरहद

    मंगलवार, २१ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २१ साउन । 
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई उमेर हद तोकेको छ । जसअनुसार अब ६५ बर्ष नाघेको ब्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नपाउने भएका छन् । यसअघि नै नियुक्त भइसकेकाले भने ६९ वर्षसम्म उक्त पदमा बहाल रहन पाउनेछन् । यस्तै, राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाको सञ्चालकको लागि ७० वर्षको उमेर हद तोकेको छ । जसअनुसार निर्देशिका कार्यान्वयनमा आउनुअघि सञ्चालक भइसकेकाले ७४ वर्षमा पद छाड्नुपर्ने छ । यसअनुसार सबैभन्दा पहिला एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्ने हुन्छ ।

     

    यस्तै, राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतको हकमा पनि ६५ वर्षको उमेर हद तोकिएको छ । यस निर्देशिका लागू हुनुअघि नियुक्त भए पनि ६९ वर्ष उमेर पुगेका व्यक्ति सीईओ बन्न सक्दैनन्, राष्ट्र बैंकको निर्देशनमा लेखिएको छ । यस व्यवस्थाअनुसार प्राइम बैंकमा हालैमात्र पुननियुक्ति पाएका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले समेत पद छाड्नु पर्ने हुनसक्ने देखिन्छ । उनलाई हालै मात्र प्राइमले थप चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको भएतापनि ६९ वर्षको उमेर हदले छुनसक्ने देखिन्छ । 

    यस्तै राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर अनुपात २ प्रतिशत कायम गरेको छ । हाल १० प्रतिशत अनुपात कायम गर्नु पर्ने नियम भएकोमा राष्ट्र बैंकले परवर्तन गरेको हो । यसैगरि, लाभांस बाँड्दा ११ प्रतिशत कायम गर्नु पर्ने नियम परिवर्तन गरि अब १३ प्रतिशत कायम गर्नु पर्ने पनि राष्ट्र बैंकले जनाएको छ । साथै, राष्ट्र बैंकले १३ प्रतिशत कायम गर्ने समय असार मसान्तसम्म दिएको समाचार कारोबारमा छ ।

    यसैगरी, मर्जरका हकमा सीईओ, डेपुटी सीईओ र सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था गरेको केन्द्रीय बैंकले मौद्रिक नीतिका सुविधा र ब्यवस्थाहरूलाई समेटेर निर्देशन जारी गर्दै चालू आर्थिक वर्षको असार मसान्तसम्म स्प्रेड दर ४.४ प्रतिशतमा झार्न समेत निर्देशन दिएको छ । बैंक वित्तीय संस्थाले संस्थागत निक्षेप कुल निक्षेपको १० प्रतिशतभन्दा धेरै लिन नपाउने भएका छन् । केन्द्रीय बैंकले यसअघि १५ प्रतिशतसम्म संकलन गर्न पाउने व्यवस्थालाई घटाइ १० प्रतिशतमा झारेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast