आईतवार, भाद्र ८, २०७६
    ओएमजी Omg!

    जुम्रा मार्ने विवादमा कैदीको मृत्यु

    शनिबार, १८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १८ साउन । 
    नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ । 

     

    कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्टको ब्लकले आक्रमण गरी सख्त घाइते बनाएका थिए । राजीको उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टरमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले  जनाएको छ । 

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहान खाना खाएर एक साथ बसेका कैदीद्वय महतो र राजीबीच आपसमा जुम्रा मार्ने विषयमा विवाद भएको थियो । एकले जुम्रा मार्ने तर अर्कोले नमार्ने भनेपछि विवाद भएको समाचार गोरखापत्रमा छ । 

    कैदी महतोले सोही रिसमा राजीमाथि कारगाराभित्र रहेको ब्लकले टाउकोमा प्रहार गरेका थिए । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाका अनुसार घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो । 

    ती दुई जना कैदीबीचको झगडामा अन्य कैदी रमिते बनेका थिए भने सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई ढिलो खबर भएको थियो । ‘बारम्बार झगडा गर्ने र मिल्ने’ उनीहरूको बानी नै भएकाले अन्य कैदीले बेवास्ता गरेको भनाइ प्रहरीको छ । 

    यसैबीच, बालाजुस्थित सडक किनारामा बिछ्याइएको मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । सप्तरीका सुरेश साह र शिकान्त साहको मृत्यु भएको हो । मृतकद्वय दाजुभाइ हुन् ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast