आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    सामाजिक सञ्जाल चलाउँदा यस्ता कुरामा ध्यान दिनुहोस्

    शुक्रबार, १७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १७ साउन 

    इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना समेत हुँदै आएपछि प्रहरी प्रधान कार्यालयले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा सचेत रहन आग्रह गरेको छ । 

    नेपालमा पछिल्लो समय समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर क्राइमका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले यी कुरामा ध्यान दिन सुझाव दिएको छ ।

    – आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं ।

    – समाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं । जस्तै iambikash95 को बदलामा iamb!k@sh_95 प्रयोग गरेमा एकाउन्ट थप सुरक्षित हुन्छ ।

    – आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।

    – अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।

    – आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।

    – आफ्नो तस्बिर वा भिडियोहरु शेयर गर्दा आफूले चाहेको साथी वा व्यक्तिले मात्र हेर्न, कमेन्ट गर्न मिल्ने गरी सेयर गरौं । यसका लागि आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ मिलाऔं ।

    – इन्टरनेटमा देखिएका सबै सत्य र असल नहुन पनि सक्छ । च्याट,कमेन्ट,म्यासेजको आधारमा मात्र सबैसँग नजिक हुने वा भेट्न जानु जोखिमपूर्ण पनि हुन सक्छ ।

    – आफूले प्रयोग गर्ने मोबाइल, कम्प्युटर बाहेक जुन पायो त्यही उपकरणबाट ईमेल वा सामाजिक सञ्जाल लग इन नगरौं । यदि अत्यावश्यक परेर लग इन गर्नु परेमा लग इन पश्चात् लग आउट गरौं ।

    – सामाजिक सञ्जाल हामीलाई एक आपसमा जोड्नको लागि हो । कुनै पनि जाति,धर्म,वर्ण, लिङ्ग वा सम्प्रदायप्रति लक्षित तस्विर, भिडियो लिङ्क, ट्यागहरु क्लिक गरेर, प्रतिक्रिया दिएर, सेयर गरेर यसको गलत प्रयोग नगरौं । यस किसिमका सामग्रीलाई तत्काल रिपोर्ट गरौं ।

    – च्याट, कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरौं ।

    – आफ्ना साथी वा प्रेमी प्रमीकाहरुसँग आफ्नो व्यक्तिगत गोप्य तस्विरहरु आदानप्रदान नगरौं । कुनै पनि सम्बन्धको निश्चित सिमाना कायम राखौं ।

    – कसैले नराम्रो असभ्य वा अश्लिल फोटो,भिडियो,म्यासेज पठाएमा आफ्नो अभिभावकलाई खबर गरौं । प्रहरीकहाँ कसरी खबर गर्ने आफू पनि सिकौं र साथीहरुलाई पनि भनौं ।

    – विद्युतीय वा साइवर अपराधको प्रमाण सजिलै नष्ट गर्न सकिने भएकोले प्रहरीमा रिपोर्ट गर्दा त्यस्ता सामग्रीको स्क्रिन सट र त्यस्ता व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनुपर्छ ।

    – अकाउन्ट सुरक्षाको दृष्टिकोणले Two Factor Authentication को प्रयोग गरौं । जस्तै एकाउन्ट लगइन गर्दा पहिला तपाईको फोनमा म्यासेज आउने र सो कोड प्रयोग गरेर मात्र ईमेल वा सामाजिक सञ्जाल लग इन गर्न सकिने ।

    – ईमेल वा सामाजिक सञ्जालको कुनै पनि खाताको रिकभरी अप्सन मा आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर पनि प्रयोग गर्नुहोस् । यदि आफूले प्रयोग गरिरहेको र सो खाताको रिकभरी अप्सनमा रहेको मोबाइल नम्बर कुनै कारणवश परिवर्तन गर्नुपरेमा, हराएमा सामाजिक सञ्जालमा प्रयोग भएको सो मोबाइल नम्बर पनि परिवर्तन गर्न नभुलौं ।

    – बाबु, आमा,अभिभावकहरु आफ्नो सन्तानको सामाजिक सञ्जालमा साथी बनेर जोडिनुहोस् ताकि उनीहरुको क्रियाकलापको जानकारी होस् ।

    – यदि कुनै ईमेल खाता प्रयोग गरेर फेसबुक, ट्विटर, ईन्स्टाग्राम,स्न्याप च्याट आदि खोल्नु भएको छ भने सबै (सोसियल मिडिया/ईमेल) एकाउन्टमा एउटै पासवर्ड प्रयोग नगरौं । ईमेल पनि समय समयमा चेक गरौं ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast